Logo

शेखर पक्षीय नेताहरुको बैठक बस्दै, प्रचण्ड सरकार ढाल्ने आन्तरिक तयारीमा कोईराला



काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । उनले आज साढे १ बजे बालुवाटारस्थित सम्पर्क कार्यालयमा बैठक बोलाएका छन् ।

नेपाली कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ । त्यसको ठीक दुई दिन अगाडि शेखर समूहको बैठक बस्न लागेको हो ।

पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफलका लागि बैठक बोलाएको बताइएको छ । पछिल्लो समय सरकार परिवर्तन गर्नुपर्ने पक्षमा धारणा राख्दै आएका कोइरालाले केन्द्रीय समिति बैठक अगाडि समूहको बैठक बोलाउनु र आफ्नो समूहमा नरहेका नेताहरूलाई बोलाउनुलाई अर्थपूर्ण मानिएको छ ।

कांग्रेसले नै सरकारको नेतृत्व नगरेसम्म देशले निकास पाउन नसक्ने’ बताउँदै आएका कोइराला पछिल्लो समय पार्टीभित्र सरकार विरुद्धको समूह बढाउने खेलमा लागेका छन् । कोइरालाले सरकार विरुद्धको मोर्चा बलियो बनाउन विश्वप्रकाश र प्रदीपको साथ खोजेका छन् ।

बैठकमा पहिलो पटक महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि निमन्त्रणा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्