बैतडी, २ असोज । पहिराको कारण बैतडीका दुई विद्यालय भवन जोखिममा परेका छन् । दशरथचन्द नगरपालिका–४ शाहीलेकस्थित वीरेन्द्र मावि र पाटन नगरपालिका–४ कल्तडी स्थित नवदुर्गा आधारभूत विद्यालय पहिराको जोखिममा रहेका हुन् ।
विद्यालयको भवन पछाडिबाट पहिरो खसेकाले विद्यालय भवन पहिराको जोखिममा परेको वीरेन्द्र माविका प्रधानाध्यापक कैलाशकुमार कनौजियाले जानकारी दिए । पहिराका कारण छात्र शौचालय, प्रशासनिक भवन र पुस्तकालय बढी जोखिममा परेको हो । उनले भने, “पहिराले भवन जोखिमका साथै शौचालय जाने बाटो भत्काएको छ । विद्यार्थीलाई शौचालय प्रयोगमा समेत समस्या भएको छ ।”
विद्यालय भवन तलतिर खसेको पहिरो रोकथामका उपाय अपनाउन नसके थप समस्या निम्तिने अवस्था रहेको बताइएको छ । विद्यालय भवन पहिराको जोखिममा परेको विषयमा प्रहरी मुचुल्कासहित जिल्ला प्रशासन कार्यालय, पूर्वाधार विकास कार्यालय र सामाजिक विकास कार्यालयमा जानकारी गराइसकिएको विद्यालयले जनाएको छ ।
कक्षा १२ सम्मको पढाइ हुने सो विद्यालयमा अहिले साढे पाँच सय विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै जिल्लाको पाटन नगरपालिका–४ कुणी कल्तडीमा रहेको नवदुर्गा आधारभूत विद्यालयको दुईकोठे भवन पहिराको जोखिममा परेको छ । उक्त विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष पदमसिहं विष्टका अनुसार अविरल वर्षाका कारण विद्यालयको सुरक्षाका लागि लगाइएको पर्खाल भत्किएकाले जोखिम बढेको हो । कक्षा ८ सम्मको पढाइ हुने नवदुर्गा आधारभूत विद्यालयमा एक सय ५० विद्यार्थी अध्ययनरत छन् ।
सुदूरपश्चिमका दुई जिल्ला सञ्चारविहीन
सुदूरपश्चिम प्रदेशका पहाडी दुई जिल्लाको सञ्चार सेवा अवरुद्ध भएको छ । सोमबार दिउँसो डडेल्धुरामा अप्टिकल फाइबर काटिँदा बैतडी र दार्चुलाको सञ्चार सेवा अवरुद्ध भएको हो । वर्षापछि रुख ढलेर अप्टिकल फाइबर काटिँदा सञ्चार सेवा अवरुद्ध भएको नेपाल टेलिकम बैतडीका प्रमुख सजित प्याकुरेलले बताए ।
सोमबार दिउँसोेदेखि अवरुद्ध रहेको टेलिकमको सेवा अझै सञ्चालन हुनसकेको छैन । सञ्चार सेवा अवरुद्ध भएपछि यहाँका अन्य सरकारी तथा गैरसरकारी सङ्घसस्था, सञ्चारमाध्यम, वित्तीय कारोबार गर्ने सहकारी तथा बैंक र स्थानीय तहको सेवा प्रवाहमा समस्या आएको छ । मोबाइल, टेलिफोन र इन्टरनेट सेवा बन्द हुँदा समस्या भएको सुर्नयाका स्थानीय केशव भट्टले बताए ।
अवरुद्ध सञ्चार सेवा सञ्चालनका लागि कैलालीको अत्तरियाबाट प्राविधिकको टोली खटिएको नेपाल टेलिकम बैतडीका प्रमुख प्याकुरेलले बताए । उनले भने, “अप्टिकल फाइबार मर्मतका लागि अत्तरियाबाट प्राविधिक टोली खटिएको छ । पानी परिरहेकाले केही ढिलाइ भएको छ । छिट्टै समस्या समाधान हुन्छ ।” रासस/File photo