काठमाडौं, ३ असोज । निराहार अलौकिक राजेन्द्र रेग्मी उजागर समितिले श्री राजेन्द्र रेग्मी ‘अलौकिक’ निराहारी बाबाको अलौकिक क्षमताबारे परीक्षणको माग गरेको छ। समितिले ती बाबा विगत ७ महिनादेखि निराहार रहेको जनाएको छ । नेपाल सरकारले ती बाबाको अलौकिक क्षमताको उजागर गर्नको लागि तत्परता देखाउन पनि समितिको माग छ ।
समितिले आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सो क्रममा ती निराहार बाबाले आफ्नो शरिर विश्वकै मानव समूदायको लागि अनौठो सावित हुने दाबी गरे । उनले आफू २०८० भदौ मसान्तसम्म त्रिवि शिक्षण अस्पतालको आर्थिक सह–नियन्त्रक पदमा कार्यररत रहेको जनाएका छन् । उनले आफ्नो शरिर निराहार र अलौकिक भएको विवरणसमेत प्रेस नोटमार्फत सार्वजनिक गरेका छन् ।
०६५ सालदेखि ढाड दुख्ने समस्या रहेकोले उभिएर काम गर्ने गरेको र कुर्सीमा बसेर काम गर्न नसक्ने, खानेकुरा खाँदा दुख्ने गरेको पनि उनले स्मरण गराएका छन् । उनको जन्म नेपालको कोशी प्रदेशको धरानमा भएको हो । हाल स्थायी ठेगाना ललितपुर महालक्ष्मी नगरपालिका लुभु–८ हो । उनले आफू शिव भगवानको अनन्य भक्त भएको पनि जनाए ।
समितिका अध्यक्ष डा. गोविन्द प्रसाद पोखरेलले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ,‘कानूनी राय लिँद्या आफ्नो स्थायी ठेगानामा निराहार प्रमाणित उजागर गर्ने राय पाएबमोजिम महालक्ष्मी नगरपालिका वडा नम्बर ८ लुभुका वडाअध्यक्षज्यूलाई सोही वडामा भएको महादेव मन्दिर गोभराटेश्व्र मन्दिरमा निराहार ध्यानमा बसी जति दिन विज्ञानले भन्छ त्यति नै दिन ध्यानमा बसी निराहार भएको सो को व्यवस्थापन तथा सुरक्षा गरिदिन आवेदन उजागर समितिले २०८० असोज २ गते दिएकोमा वडाअध्यक्षज्यूले आवश्यक पहल गर्ने सो को जानकारी नगरपालिका र सुरक्षा व्यवस्थामा गरी खबर गर्ने जानकारी गराउनुभएको छ । यस रिपोर्टर्स क्लब नेपालमा उपस्थित् आम पत्रकारज्यूहरु मिडियाकर्मीज्यूहरुले भिडिओ खिची प्रमाणित गरिदिनुहुन म निराहार अलौकिक राजेन्द्र रेग्मी आह्वान गर्दछु ।’
उनले आफूलाई शरिरमा आएको त्यस्तो बदलावको समयमा नेपाल र भारतका विभिन्न शिवालयमा पुगेर दर्शन गरेको पनि जानकारी दिए । उनले आफूले ०७६ सालदेखि भोजन बन्द गरेको स्पष्ट पारे । उनले भने,‘मैले २०७६ सालदेखि नै भोजन बन्द गरेको थिएँ, तर ०७९ साल फागुन ३ गते जब म सुतेको थिएँ, त्यतिवेला मेरो वजन १२० केजी थियो, तर मलाई अलौकिक शक्ति प्राप्त भएको सपना भयो, उठ्दा त मेरो वजन नै घटेको अवस्थामा आफूलाई पाएँ, पछि तौल ८० केजी भएछ ।’ उनले आफू घण्टौंसम्म पनि चिसो वा तातो दुवै पानीले समाधि गर्नपनि सक्षम रहेका खुलाए ।
उनले थपे,‘म निराहार बाँचिरहेको छु । विश्व मानवभन्दा फरक शरिर मैले पाएको छु । यो शरिरलाई नेपालले मात्रै होईन विश्वको मेडिकल साईन्सले हेर्नुपर्छ । मैले ०७६ सालदेखि नै मलाई शरिररमा कम्पन आउने भएको थियो । यो बीचमा मैले हरेक देवीदेवताको दर्शन गरेको छु । ०७९ फागुन ३ गते राति १२ः१० बजे म सुतेको थिएँ । झसंग उठ्दा म उडेको जस्तो भयो । १२० केजीको मान्छे म सपना देखेर उठ्दा त ४० केजी वजन घटेछ । ४८ इन्चको कम्मर ३४ इन्चको भयो । जल लियो भने खुट्टामा पुग्ने अवस्था भयो । म गत फागुनदेखि निराहार छु ।’
आफ्नो अलौकिक क्षमताको परीक्षणको लागि आफूले राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्मलाई पत्राचार गरेको उनको भनाई छ । उनले भने,‘मेरो क्षमताको उजागर गरियोस । त्रिवीका पदाधिकारीलाई भन्दा चासो देखाईएन । नेपालका सम्पूर्ण मिडियालाई अनुरोध छ । म ७ महिनादेखि निराहार हो कि होईन ? मलाई जाँच होस । निरन्तर ७ महिना भयो मैले पानी पनि खाएको छैन् । निराहार प्रुफ हुनुपर्यो । जलधारा दिएर म जति पनि बस्न सक्छु ।’ उनले सिसिटीभी राखेर मिडियाहरुको उपस्थितिमा आफूलाई निराहार र अलौकिक क्षमताको परीक्षण गर्ने वातावरण बनाउन सरकारदेखि सरोकारवालासम्मलाई अनुरोध गरे ।
यस्तो छ उनले जारी गरेको प्रेस नोट