Logo

‘संविधानले सबैको अधिकार सुनिश्चित गरेको छ’



चितवन, ३ असोज । नेपालको संविधान २०७२ ले सबै वर्गको अधिकार सुनिश्चित गरेको  आयोजित कार्यक्रमका वक्ताले बताएका छन् । संविधान दिवस मूल समारोह समितिले आज आयोजना गरेको संविधान दिवस २०८० कार्यक्रममा बोल्ने वक्ताहरुले संविधानले दिएको अधिकार कार्यान्वयनमा ल्याउनुपर्ने जोड दिए ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले संविधान सबैको साझा सम्पत्ति भएकाले यसको कार्यान्वयनमा सबै लाग्नुपर्ने बताए । उनले भने, “संविधानले सबै वर्गको अधिकार सुनिश्चित गरेको छ । यसलाई सबैको सम्पत्तिका रुपमा कार्यान्वयन गर्नुपर्छ ।”  उनले संविधानले दिएको अधिकार सुनिश्चित गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले भने, “दलहरु एक अर्कालाई आरोप प्रत्यारोप नगरी संविधान कार्यान्वयनको दिशामा लाग्न जरुरी रहेको छ ।” बागमती प्रदेशसभा सदस्य मायाँ श्रेष्ठ र हरिप्रसाद सापकोटाले संविधान कार्यान्वयनका चरणमा रहेकाले सरकार, राजनीतिक दल र नागरिक समाज सबै एक हुनुपर्ने बताए । जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई रक्षा गर्दै संविधान कार्यान्वयनमा ल्याइनुपर्ने उनीहरुको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा (एमाले) चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, नेकपा (माओवादी केन्द्र) का द्रोणबाबु सिवाकोटी, राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला अध्यक्ष कृष्ण भुसालले संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरु समाधान गर्दै अघि बढ्नुपर्ने बताए ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति चितवनकी उपप्रमुख कल्पना काफ्ले सापकोटा, प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा लगायतले बोलेका थिए।

कार्यक्रमअघि भरतपुरको चौबिसकोठीबाट जिल्ला समन्वय समितिसम्म प्रभात फेरि निकालिएको थियो । संविधान दिवसका अवसरमा आजै भरतपुर अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरणसमेत गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्