काठमाण्डौं, असोज ४ । काठमाण्डौको रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म आजदेखि २५ वटा द्रुत बस चल्ने भएका छन् । द्रुत बस बिहान ९ बजेदेखि ११ बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म चल्ने छन् ।
बुधबार दुई वटा बसबाट सुरु गरिएको सेवा आजदेखि २५ वटा बस नियमित रुपमा चल्नेछन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा विभागले २५ वटा ठूला बसको व्यवस्थापन गरेको छ ।
संविधान दिवसको अवसर पारेर सरकारले बुधबारदेखि द्रुत बस सेवा सञ्चालन गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवाको उद्घाटन गरेका थिए। द्रुत बस सञ्चालन हुने रत्नपार्कदेखि भक्तपुरको सूर्यविनायकसम्म सडकमा रातो रङले डेडिकेटेड लेन नै छुट्याइएको छ ।
सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा नै पुग्न सकिनेछ । द्रुत बसका लागि रत्नपार्कदेखि सूर्यविनायकसम्म १९ ठाउँमा स्टप तोकिएको छ ।