Logo

शिक्षा राज्यमन्त्री प्रमिलाको गुनासो : शिक्षामन्त्री राईले मलाई कुनै अधिकार दिनुभएको छैन् (भिडिओसहित)



काठमाडौं, ४ असोज । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईमाथि राज्यमन्त्री प्रमिला यादवलाई बाईपास गरेर अघि बढेको आरोप लागेको छ । जनता समाजवादी पार्टीबाट शिक्षा मन्त्रालयको नेतृत्व सम्हालेका राई र यादवबीच सम्बन्ध त्यति राम्रो छैन् । खासमा मन्त्री राईले राज्यमन्त्री यादवलाई वास्ता नगरेको आरोप लागेको छ। मन्त्रालयका नियमित कामकारबाहीमा समेत राज्यमन्त्री यादवलाई मन्त्री राईको हस्तक्षेप हुने गरेको गाईँगुईँ चलेको छ ।

राज्यमन्त्री यादवले पछिल्लो पटक आफ्नै मन्त्रालयले शिक्षा विद्येयक ल्याउँदापनि मन्त्री राईले आफूसँग छलफल नगरेको गुनासो पोखिन् । आफूले शिक्षा विद्येयक अघि बढाउने बेलामा मस्यौदा हेर्छु र सरोकारवाला निकायका प्रतिनिधिहरुसँग छलफल गर्छु भनेर राय तथा सल्लाह दिएको उनको भनाई छ । विद्यालय शिक्षासम्बन्धी विद्येयक अघि बढेको भनेर आफूलाई भनिएको उनको भनाई छ ।

आफूले मन्त्री राईसँग विद्येयक हेर्न माग गर्दा सांसदहरुलाई वितरण गरेपछिमात्रै आफ्नो च्याम्बरमा उक्त विद्येयक दिईएको सुनाईन् । नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन् ।

उनले भनिन्,‘नेपाल सरकारले राज्यमन्त्रीलाई कुनै अधिकार दिईएको छैन् । सरकराले नै राज्यमन्त्रीलाई अधिकार तोकेर दिनुपर्छ ।’ पार्टीले राज्यमन्त्रीको रुपमा पठाएकोले आफू बसेको उनको भनाई छ । उनले भनिन्–‘मलाई शिक्षामन्त्रीले कुनै अधिकार दिनुभएको छैन् । मैले । पत्रिका पढ्नुहोस । मलाई पनि पत्रिकाबाट मात्रै थाहा हुन्छ ।’ वार्ता कमिटी बनाउँदापनि आफूलाई जानकारी नदिईएको उनको गुनासो छ । कुनैपनि समस्या आउँदा राज्यमन्त्री ठानेर समस्या समाधानको लागि बोलाउने काम नगरेको । मैले उहाँलाई धेरै सम्मान गर्छु । कुनै विवाद गरेको छैन् । म पनि संघर्ष गरेर आएको महिला हुँ ।’



प्रतिक्रिया दिनुहोस्