काठमाडौं, ४ असोज । अर्थमन्त्री डा.प्रकाशशरण महतले अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताएका छन् । कोर्षको ५०औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महतले यसका लागि निजी क्षेत्रले सकारात्मक भाइभ फैलाउन आवश्यक रहेको बताए ।
अर्थतन्त्रमा समस्या रहेपनि ती समस्या विस्तारै कम हुँदै गइरहेको उनले बताए । ‘समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन्,’– मन्त्री महतले भने ।
मन्त्री महतले विशेष न्यून तथा विपन्न वर्गले सञ्चालन गर्ने साना तथा मझौला उद्योगको प्रवर्द्धनसहित रोजगारीको वातावरण सिर्जना गरी देशव्यापीरूपमा वित्तीय पहुँच अभिवृद्धि गर्ने सरकारको नीति तथा कार्यक्रम सफल बनाउने गरी कार्यक्रम सञ्चालन गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गरे ।
उनले पर्यटकको आगमन बढिरहेको, विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढेको बताए । तर, अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । ‘हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरुले लगानी नगरुन, पैसा थुपारुन, राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ,’– उनले भने ।
अर्थतन्त्र चलायमान हुँदा आर्थिक गतिविधि बढ्ने मन्त्री महतले बताए ।आर्थिक गतिविधि बढेसँगै रोजगारी पनि बढ्ने र राजश्वमा परेको दवाब अन्त्य हुने मन्त्री महतले बताए ।