काठमाडौं, असोज ६ । राष्ट्रपति रामचन्द्र पौडेल आज गृह जिल्ला जाँदैछन् । राष्ट्रपतिमा निर्वाचित भएको करिब साढे छ महिनापछि राष्ट्रपति पौडेल पहिलो पटक गृह जिल्ला जान लागेका हुन् ।
उनी व्यास नगरपालिका ३ दमौलीस्थित दमौली सभा हलको उद्घाटन गर्न तनहुँको दमौली जान लागेका हुन् । राष्ट्रपति पौडेलले अहिले बिहान तनहुँको भानु नगरपालिका– १३ स्थित मिर्लुङमा रहेको भँगेरथानमा पूजा गर्ने कार्यक्रम छ ।
त्यसपछि सदरमुकाम दमौलीको बिपी वनवाटिकामा निर्माण गरिएको जिल्ला सभा हल र नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको सालिक अनावरण गर्ने कार्यक्रम रहेको छ ।
जिल्ला सभा हलको उद्घाटन दिउँसो १ बजे हुनेछ। ७ सय ५० जना क्षमताको उक्त सभा हल गण्डकी प्रदेशकै ठुलो मानिएको छ ।
राष्ट्रपति पौडेल नेपाली काँग्रेसको वरिष्ठ नेता भएको समयमा उनकै पहलबाट सङ्घीय सरकारको करिब २३ करोड ६२ लाख ४३ हजार ३३१ लागतमा उक्त सभा हल निर्माण भएको हो । राष्ट्रपति तनहुँ आउने भएपछि दमौलीबजार समेत बेहुली झैं सिंगारिएको छ ।