काठमाडौं, ६ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आजकै दिन आजभन्दा ८ वर्षअघिको नाकाबन्दीलाई सम्झिएका छन् । उनले ६ महिनासम्म भएको नाकाबन्दीलाई देशभित्र र बाहिर बस्ने सबै नेपाली जनताले मिलेर परास्त गरेको स्मरण गराए । उनले फेशबुकमा आज (शनिबार) इतिहासमा आज भन्दै आफ्नो अनुभव सार्वजनिक गरेका छन् ।
उनले लेखेका छन्–
इतिहासमा आज !
आज असोज ६ गते । आज भन्दा ८ वर्ष अघिको आजको दिन सम्झन्छु । जीवनमा कतिपय दिन यस्ता हुन्छन् – तिनलाई कहिलै बिर्सिन सकिँदैन। अस्पतालमा अक्सिजन,औषधि, बजारमा पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास लगायतका दैनिक उपभोग्य वस्तुको हाहाकार थियो । इन्धन नभएर अस्पताल जान नपाउने, खाना पकाउन नपाउने, भोकै बस्नु पर्ने पीडा भोग्यौं। देश भित्र र बाहिर बस्ने सबै नेपाली जनताले करिब छ महिनासम्म भएको नाकाबन्दीलाई पराजित गरेका थियौं |
कुनै दिनले इतिहास सम्झाउँछ र इतिहासले देशलाई आत्मनिर्भर बनाउने प्रेरणा दिन्छ। जतिसुकै अवरोध भए पनि, जतिसुकै प्रहार भए पनि, जतिसुकै घेराबन्दी भए पनि देशलाई आत्मनिर्भर बनाउने अभियान छोड्नु हुँदैन। तपाईंहरूले ती दिनलाई कसरी सम्झनु भएको छ ?
तस्बिर स्रोत – The Guardian