Logo

खेलकुद सामान्य प्रशासन मन्त्रीले गरे प्रधानमन्त्री प्रचण्डलाई चीनमा स्वागत



काठमाडौं, असोज ६। आठ दिने जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई त्यहाँका खेलकुद सामान्य प्रशासन मन्त्री गाओ जिदानले स्वागत गरेका छन् ।

चिनियाँ ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरेका हुन्। संयुक्त राष्ट्र संघको ७८ औँ महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री प्रचण्डसहितको टोली न्युयोर्कबाट चीन पुगेको हो ।

प्रधानमन्त्री प्रचण्डले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग औपचारिक भेटवार्ता गर्ने भएका छन् । भेटवार्तापछि चीनको हाङ्झाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् । खेलकुदको उद्घाटन समारोहमा सहभागी हुन सी हाङ्जाओ पुगिसकेका छन् ।

प्रधानमन्त्री भोलि बेइजिङ जानेछन् । न्युयोर्कको पाँच दिनको भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड आठ दिने चीन भ्रमणमा गएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणमा कृषि, स्वास्थ्य, सडक, नाका, जलविद्युत्, व्यापार घाटालगायतका क्षेत्रमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्