काठमाडौं, ६ असोज । राहत शिक्षकहरुले आज पनि प्रदर्शन जारी राखेका छन् । संसद्मा दर्ता भएको शिक्षा विधेकयले शिक्षकहरुको माग र मुद्दालाई बेवास्था गरेको भन्दै उनीहरुले गत असोज ३ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन सुरु गरेका थिए ।
नेपाल शिक्षक महासंघ र विभिन्न सरोकारवालाहरुको नेतृत्वमा हिजो सरकारसँग ७ बुँदे सहमति भएपनि राहत शिक्षकहरुले उक्त सहमतिमा असन्तुष्टि जनाउँदै आन्दोलन कायम राखेका छन् ।
आफूहरुको माग सहमतिमा नसमेटिएको भन्दै उनीहरुले आन्दोलन जारी राखेका हुन् । सहमतिमा आफ्ना मागहरु नसमेटिने भएपछि राहत शिक्षकका प्रतिनिधि बैठक छोडेर बाहिरिएका थिए । राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले सरकार र आन्दोलनरत शिक्षकहरुको सहमतिमा ४५ हजार राहत शिक्षकको माग सम्बोधन नभएको बताए ।
राहत शिक्षक संघ केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले राहत शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गराउन पर्ने आफूहरुको माग भएपनि सहमतिमा ४५ हजार शिक्षकको माग बेवास्ता गरिएको बताए । File Photo /RN