Logo

ओलीसँग भेट्नै डराउँछन् देउवा



काठमाडौं, ७ असोज । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग विगत दुई वर्षदेखि कुनै पनि संवाद नभएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले देउवा आफूसँग भेट्नै डराएको बताए ।

कुनै कार्यक्रमहरुका भेट भएको बाहेक दुई वर्षदेखि कुनै औपचारिक संवाद र वार्ता नभएको उनको भनाई छ । गत पुष १० को सन्दर्भमा पनि टेलिफोन गरेर ‘भेटौं’ भन्दो देउवाले ‘नभेटौं’ भनेको र ‘संवाद अगाडि बढाऔं’ भन्दा देउवाले ‘नबढाऔं’ भन्ने जवाफ दिएको उनले बताए ।

गत पुष १० गतेअघिको सन्दर्भ उल्लेख गर्दै ओलीले भने, ‘मैले भेटौं भनेको थिएँ, उहाँले नभेटौं भन्नुभयो । मैले कुराकानी गरौं भनेको थिएँ, उहाँले नगरौं भन्नुभयो । पछिल्लो समय शेरबहादुर देउवा मसँग भेट्न डराउनु हुन्छ । कुन शक्तिसँग डराउनु भएको हो थाहा छैन । तर, डराउनु हुन्छ ।’

कांग्रेस–एमाले मिलेर सरकार बनाउने हो भने त्यसको रिटर्नमा कांग्रेस राष्ट्रियता, सार्वभौम सत्ता, स्वाधीनता, स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा उभिनु पर्ने उनको भनाई छ । कांग्रेसले राष्ट्रिय हित विपरीतको काम गर्दिन भनेर कबुल गरेको खण्डमा कांग्रेस–एमालेबीचको सरकार सम्भव रहेको उनले बताए ।

‘कमसेकम हामीसँग मिल्ने हो भने नेपाली कांग्रेसले के कबुल गर्नपर्छ रिर्टनमा भने– राष्ट्रियताको पक्षमा उभिन्छु, सार्वभौम सत्ताको पक्षमा उभिन्छु, स्वाधीनता र स्वतन्त्रताको पक्षमा उभिन्छु, भौगोलिक अखण्डताको रक्षा गर्छु, राष्ट्रिय हितको पक्षमा उभिन्छु र राष्ट्रिय स्वाभिमानको झण्डा उठाउने काम गर्छु त्यस विपरीतका काम गर्दिन भनेर कबुल गर्नपर्छ,’– ओलीले. भने ।



प्रतिक्रिया दिनुहोस्