काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनको करिब १० महिनापछि प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । अन्य मुलुकको भ्रमणभन्दा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई विशेष चासोका रूपमा लिइएको छ ।
प्रधानमन्त्री प्रचण्डले यसक्रममा विभिन्न सम्झौतासमेत गर्ने आँकलन गरिएको छ । साथै, चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई विशेष महत्व दिइएको छ । पूर्वाधार विकास परियोजना भनेर सुरु भएको विआरआईलाई अहिले सामाजिक, सांस्कृतिक परियोजनाका रुपमा समेत लिन थालिएको छ ।
यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, विआरआई परियोजनाको औचित्य, कार्यान्वयन र नेपाल–चीन सम्बन्ध सुदृढीकरण लगायतका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गरेको छ । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नेपाल–चीन सहयात्रा, सहकार्य, विकास र समृद्धि, विआरआई सम्झौता कार्यान्वयनका चुनौतिलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
भारतका लागि नेपालका पूर्वराजदूत तथा कुटनीतिज्ञ डा. दुर्गेशमान सिंहले नेपाली नेताहरुले जे भन्यो त्यो गर्ने र जे गर्ने हो त्योमात्रै भन्ने गरेमा मात्रै छिमेकी राष्ट्रबीच विश्वासको वातावरण निर्माण हुने बताए । विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन नभएमा प्रधानमन्त्री वा मन्त्री छिमेकी राष्ट्रमा गएर एक÷दुई वटा सम्झौता गर्दैमा केही फरक नपर्ने उनको भनाई छ । उनले चीनको कुटनीतिक मनोविज्ञान एकदमै दूरागामी रहेको बताए । नेपाललाई विगतदेखिनै चीनले दरिलो समर्थन गरेको पनि उनले स्मरण गराए ।
‘चीनको कूटनीतिक साईकोलोजी ज्यादै दूरगामी दृष्टिकोणको छ । चीन लङटर्म भिजन लिएर जाने देश हो । आफैंमा एउटा महादेश हो । चीनको हामीलाई दरिलो समर्थन नै थियो,’– उनले भने ।
विआरआईको सम्बन्धमा देशले कसको सहयोग लिने वा कसको नलिने भन्ने कुरा निर्धारण हुन आवश्यक रहेको उनले बताए । कुनै एउटा राष्ट्रसँग लहसिने खालको देशको परराष्ट्र नीति हुन नहुने उनको भनाई छ । आजको दुनियाँमा वैदेशिक सहयोगमार्फत सबै देशले स्वार्थ राखेपनि नेपालले आफ्नो स्वार्थलाई कूटनीतिक हिसावबाट पूरा गर्न सक्नुपर्ने बताए ।
‘आजको दुनियाँमा कुनैपनि राष्ट्रले दिने वैदेशिक सहयोगमा कुनै न कुर्न स्वार्थ त राख्न खोज्छन् ।’ उनले भने,‘कसरी हाम्रो स्वार्थलाई अगाडि राखेर त्यसलाई उपयोग गर्ने हो त्यो सोच्न जरुरी छ ।’ आपसी हित (वीनवीन सिचुवेशन) को भावना रहेको बताउँदै उनले विआरआई नेपालको सन्दर्भमा ठीक रहेको बताए ।