काठमाडौं, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला छिमेकी मुलुक चीनको औपचारिक भ्रमणमा छन् । तेस्रो पटक प्रधानमन्त्री बनको करिब १० महिनापछि प्रचण्ड छिमेकी मुलुक चीनको भ्रमणमा गएका हुन् । अन्य मुलुकको भ्रमणभन्दा प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणलाई विशेष चासोका रूपमा लिइएको छ । प्रधानमन्त्री प्रचण्डले यसक्रममा विभिन्न सम्झौतासमेत गर्ने आँकलन गरिएको छ । साथै, चीनको पूर्वाधार परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई विशेष महत्व दिइएको छ ।
पूर्वाधार विकास परियोजना भनेर सुरु भएको विआरआईलाई अहिले सामाजिक, सांस्कृतिक परियोजनाका रुपमा समेत लिन थालिएको छ । यसै सन्दर्भमा रिपोर्टर्स क्लब नेपालले प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण, विआरआई परियोजनाको औचित्य, कार्यान्वयन र नेपाल–चीन सम्बन्ध सुदृढीकरण लगायतका विषयमा विज्ञहरुसँग अन्तरक्रिया गरेको छ ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको सभापतित्वमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले नेपाल–चीन सहयात्रा, सहकार्य, विकास र समृद्धि, विआरआई सम्झौता कार्यान्वयनका चुनौतिलगायतका विषयमा आफ्ना धारणा राखेका थिए ।
चीनका लागि नेपालका पूर्व राजदूत राजेश्वर आचार्यले हरेक सम्झौताहरु आफ्नो देशको राष्ट्रिय स्वार्थ र हितमा हुनुपर्ने बताए । कुनै पनि किसिमको सहयोग लिँदा देशको आर्थिक अवस्था, जनताको क्रयशक्ति, रोजगारी वृद्धि, जनतालाई सुखसुविधा पुग्ने र देशको आर्थिक अवस्था बलियो हुने रूपमा सहयोगकेन्द्रित हुनुपर्ने उनको धारणा छ ।
विआरआईलाई नेपालले कुन प्रयोजनमा लिने भन्नेबारे स्पष्ट हुन आवश्यक रहेको उनले बताए । नेपालको कूटनीतिका स्तर घटेको उनको टिप्पणी छ । नेपालको पहुँच कम हुँदै गएको तर्फलक्षित गर्दै उनले छरछिमेकी मूलुकमा भएका राष्ट्रिय, अन्तराष्ट्रिय सम्मेलनमा नेपाल देखिन छोडेको बताए । विगत १० वर्षको अवधिमा चीनसँग नेपालले चार दर्जनभन्दा बढि सम्झौता भएपनि कार्यान्वयन पक्ष फितलो रहेको उनको अनुभव छ ।
सम्झौतमात्रै गरेर नहुने बताउँदै उनले विगतमा भएका सम्झौता कति कार्यान्वयन भएर र कुन सम्झौतालाई प्राथमिकता दिने भन्ने कुराको निक्र्यौल गर्नुपर्ने आवश्यकत्ता औंल्याए । नेपाल र चीनबीच सन् २०१६ मा भएका ट्रान्जिट एग्रिमेन्ट र २०१७ मा भएको विआरआई एग्रिमेन्ट नेपालका लागि धेरै महत्वपूर्ण रहेको उनको भनाई छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा विभिन्न २० वटा सम्झौता भएको बताउँदै उनले विश्वमा प्रभाव जमाएका शक्ति राष्ट्रका नेताले हस्ताक्षर गरेको सम्झौतापनि नेपालले कार्यान्वयन गर्न नसक्ने हो भने सम्झौताको औचित्य नहुने बताए । साथै, अन्य थप सम्झौता गर्न आवश्यक नरहेको उनको भनाई छ ।
चीन अहिले कृषिमा आत्मनिर्भर रहेको बताउँदै उनले आफ्नो कार्यकालमा कृषिको विकासका लागि सम्झौता गराउने पहल गरेपनि त्यो सम्झव नभएको सुनाए । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणका क्रममा कृषि क्षेत्रको विकासलाई बढि प्राथमिकतामा राख्नुपर्ने उनको सुझाव छ ।
नेपालको कूटनीतिक सम्बन्ध एउटा सरकारले हुम्लामा चीनसँग सीमा समस्या देख्दा अर्को सरकार बन्दा त्यहाँ सीमा समस्या नदेख्नेखालको कमजोर बनेको उनको टिप्पणी छ । विआरआई, एमसीसीजस्ता परियोजना नेपालको हितमा छ भने लिनुपर्ने उनको धारणा छ । तर, विआरआई भर्सेस एमसीसी बनाउन नहुने उनले बताए ।
‘विआरआरआई हाम्रो हितमा छ भने लिनुपर्छ । चाहे विआरआई होस् वा एमसीसी दुईटालाई झगडा गराउने कारण छैन । विआरआई भर्सेज एमसीसी होईन ।’ उनले भने, ‘यो इन्डोप्यासिफिक स्ट्राटेजीदेखि लिएर एसपीपी जोडिन्छन् त्यो आवश्यक छैन । हामीले नेपालको सुरक्षा, शान्ति विकास र नेपालको राष्ट्रिय अक्षुण्णता के सुदृढ हुन्छ त्यसरी लिनुपर्छ ।’
अमेरिकासँगको नेपालको सम्बन्ध धेरै पुरानो भएको बताउँदै उनले नेपाल र नेपालीको राष्ट्रिय हितका बारेमा मन्त्री, प्रधानमन्त्रीले चासो बढाउन पर्ने र नेपाल र नेपालीको पक्षमा विश्वास आर्जन गर्न आवश्यक रहेको उनले बताए ।