Logo

नक्कली शरणार्थी प्रकरणका मुख्य दोषी बादल हुन्, उनलाई सरकारले छुनै सकेनः डा.सुरेन्द्र केसी



काठमाडौं, ८ असोज । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले सरकारले भ्रष्टाचारका विभिन्न प्रकरणमा निश्पक्ष छानविन अगाडि बढाउन नसकेको टिप्पणी गरेका छन् । हिजो (आईतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले भ्रष्टाचार प्रकरणका छानविनहरुले धाकधम्की र प्रतिशोधपूर्ण रहेको बताएका हुन् ।

साथै, सुन तस्कारी प्रकरणको छानविनका लागि गठन हुने भनिएको छानविन समितिको पनि कुनै आचित्य नरहेको उनको भनाई छ । छानविन समिति गठन हुने विषयमै आशंका व्यक्त गर्दै उनले समिति गठन भएको खण्डमा पनि दलहरुको माग बमोजिममात्र हुने उनले बताए । भ्रटाचारको फाइल खोल्ने नाममा सरकारले बबन्डर गर्ने, आफ्ना प्रतिद्वन्द्वीलाई सिध्याउने, जेलमा लगेर सडाइदिने, डाम्नेजस्ता काम गरेको उनको आरोप छ ।

‘छानविन समिति गठन हुँदैन, भयो भनेपनि दलहरुले माग गरेबमोजिममात्रै हुन्छ, जसको कुनै अर्थ छैन । सिआईबीको प्रतिवेदन नै अनुमोदन हुँदैन । खाली बबन्डर गर्ने, हल्ला गर्ने, आफ्ना प्रतिद्वन्द्वीलाई सिध्याउने, जेलमा लगेर सडाइदिने, डाम्ने त्योमात्रै हुन्छ । जो वास्तविक अभियुक्त हो त्यहाँसम्म पुग्दैन,’– उनले भने ।

नक्कली भुटानी शरनार्थी प्रकरणको मुख्य दोषी बालकृष्ण खाँण र टोपबहादुर रायमाझी नभएको उनको दाबी छ । तत्कालीन सरकारमा भएको हिसाबले यसको त्यो काम रामबहादुर थापा ‘बादल’ ले गरेको उनको आरोप छ । तर, अनुसन्धान बादलसम्म नपुगेको भन्दै उनले आपत्ति जनाए ।

‘भुटानी शरनार्थीमा केही पनि भएन । त्यो बालकृष्ण खाण्ड र टोपबहादुर रायमाझीले गरेकै होईन । त्यो त ओलीको पालामा बादलले गरेको काम होईन ? बादलको नामै आएको छैन । के गरेको छ र टोप बहादुरले ? बालकृष्ण खाँणले अगाडिको फाइल सदर गरे त्यति न हो । उनीहरुलाई सिध्याउने कुरामात्रै भयो यहाँ,’– उनले भने ।

बालुवाटार प्रकरण चन्द्रदेव जोशी, शाखा अधिकृत लगायतको टाउकोमा हालिएको उनले बताए । उनले उक्त प्रकरणमा मुख्यसचिव र तत्तकालीन प्रधानमन्त्रीलाई छुनै नसकेको उनको टिप्पणी छ ।

‘बालुवाटारमा त्यही भयो । चन्द्रदेव जोशीको टाउकामा गयो । शाखा अधिकृतको टाउकोमा गयो । शाखा अधिकृतले गरेको हो र त्यो ? मुख्यसचिव र प्रधानमन्त्रीहरुलाई छुँदैछोएन । यो प्रतिशोधपूर्ण र धाक धम्कीपूर्ण भन्ने प्रष्टै देखियो,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्