Logo

ताल्चा विमानस्थलमा छुटेका चिकित्सकहरु ल्याउन मन्त्री किरातीले पठाए जहाज



काठमाडौं, ९ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले मुगुको ताल्चा विमानस्थलबाट नेपालगञ्ज आउन छुटेका चिकित्सकहरु लिन नेपाल वायुसेवा निगमको जहाज पठाइएको बताएका छन् ।

आज विहान समिट एयरले टिकट काटेका डाक्टरहरुको टिमलाई छाडेर माओवादी नेताहरुलाई लिएर नेपालगञ्ज भन्दै आलोचना भएको थियो । डाक्टरलाई भन्दा नेतालाई प्राथमिकता दिइएको भन्दै आलोचना सुरु भएपछि मन्त्री किरातीको निर्देशनमा अर्को जाहज पठाइएको हो ।

‘मुगुको ताल्चा विमानस्थलबाट नेपालगन्ज आउने छुटेका चिकित्सकहरुको खबरले दुःखित बनायो । गन्तव्यमा पुर्‍याउन नेपाल वायुसेवा निगमको जहाज तत्काल पठाईएको छ,’– मन्त्री किरातीले सामाजिक सञ्जालमा भनेका छन् ।

तर, माओवादीका नेताहरु मात्रिका यादव, महेन्द्रबहादुर शाही, विमला केसी, प्रकाशबहादुर शाही र धर्मराज शाहलाई लिएर नेपालगञ्ज आएको विमान नियमित फ्लाइट नभएको बताइएको छ । उक्त विमान उनीहरुले चार्टर गरेको भएपनि १६ जना डाक्टरहरुको समूह रहेकोमा १५ जनासम्म जानसक्नुहुन्छ भन्दा डाक्टरहरुले नाराबाजी गरेर निहुँ खोजेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्