काठमाडौं,९ असोज । नेपालले चीनलाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा भएको सहमति अनुसार नेपालले उक्त गैँडा दिने भएको हो ।
प्रधानमन्त्रीको भ्रमणको अवसरमा नेपाल र चीनका तर्फबाट मंगलबार बिहान जारी गरिएको संयुक्त विज्ञप्तिमा एक जोडि गैँडा चीनलाई दिने उल्लेख गरिएको छ ।
“नेपालले दुई देशबीचको दिगो मित्रताको प्रतीकको रूपमा चीनलाई नेपाल सरकार र जनताको तर्फबाट चीन सरकार र चिनियाँ जनतालाई उपहारस्वरूप एकजोडी एकसिंगे गैँडा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ,” संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
यसअघि पनि नेपालले चीनलाई दुई जोडि गैँडा उपहार दिएको थियो । चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए । ओलीको वचनअनुरुप नेपालले भद्रा र रुपसी नाम गरेका गैँडा चीन पठाएको थियो ।