काठमाडौं, १० असोज । नेकपा (माओवादी केन्द्र) की उपाध्यक्ष तथा पूर्वमन्त्री पम्फा भुषालले अहिलेको अवस्थामा सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले चाहेरपनि आफ्नो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकार ढाल्न नसक्ने दाबी गरेकी छिन् । अध्यक्ष प्रचण्डसहितको अहिलेको गठबन्धन पाँचै वर्ष जाने पनि उनको दाबी छ ।
आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले ०८४ सालमा हुने आम निर्वाचन अहिलेको यही गठबन्धनले नै गर्ने पनि दाबी गरिन् । उनले अहिले कांग्रेसको मात्रै सरकार बन्छ ? भन्दै कांग्रेस नेताहरुले सरकार ढाल्ने कुरा गरेकोमा कडा आलोचना गरिन् ।
उनले भनिन्,”उहाँहरु लागेर के गर्नुहुन्छ ? अहिले भर्खरै नेपाली कांग्रेसको मात्रै सरकार बन्छ र ? अहिलेको सरकारमा कांग्रेसका ८, ९ जना मन्त्री हुनुहुन्छ, सबै मन्त्री बन्न त सक्नुहुन्न होला, नसकेको एउटा होला, केही चाहीँ आफ्नो अलग पहिचान बनाउने एउटा, यो विरोधले फरक पहिचान पनि होला । केही चाहीँ रचनात्मक आलोचना पनि होला । अहिलेको अवस्थामा कांग्रेसले चाहेर पनि यो सरकार ढल्दैन् ।”
नेतृ भुषालले कांग्रेसले संस्थागत ढंगले सरकार परिवर्तन नगर्ने पनि विश्वास दिलाईन् । सरकार ढाल्ने कुराले देशलाई स्थिरता नदिने भएकोले यसले कांग्रेसलाई पनि फाइदा नहुने उनको टिप्पणी छ।
नोट : यसअघि नेकपा (माओवादी केन्द्र) हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याईएको छ ।