Logo

चन्द्र ढकालको समूहले चिनियाँ कम्पनीको प्राविधिक सहयोगमा डिज्नील्याण्डजस्तै थिमपार्क बनाउने



काठमाडौं, ११ असोज । चन्द्र ढकाल नेतृत्वको आईएमई समूहले नेपालमा डिज्नील्याण्डजस्तै थिम पार्क बनाउने भएको छ । सो समूहले चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा थिम पार्क बनाउने भएको हो । उक्त आयोजनाको लागत भने १० अर्ब लाग्ने अनुमान गरिएको छ।

यो नेपालको लागि ठूला पर्यटकीय गन्तव्य हुने जनाईएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको हो । चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक)को सब्सिडियरी हो । यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गरेको छ ।

नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्यहरु केबलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको आईएमई समूहका अध्यक्ष ढकालले जानकारी दिए । उक्त सम्झौताले दुई कम्पनीसँग रहेको अनुभव र विशेषज्ञता आदान प्रदानमार्फत परियोजनाको इन्जिनियरिङलगायत गतिविधि सञ्चालन गरिने ढकालको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्