काठमाडौं, १२ असोज । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य राजन दाहालले एमालेलाई वर्तमान सरकारले राम्रो काम गरेकोमा चिन्ता बढेको बताएका छन् ।
हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले वर्तमान सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा दुढतापूर्वक काम गरेकोमा एमालेलाई चिन्ता बढेको बताएका हुन् ।
‘कमरेड केपी ओलीलाई यो सरकारले राम्रो काम गरेकोप्रति चिन्ता छ । सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सरकारले दृढतापूर्ण आफ्नो भूमिका निर्वाह गरेकोमा उहाँलाई चिन्ता छ,’– उनले भने ।
ओलीले आफू प्रधानमन्त्री भएको बेलामा सात हजार पाँच सय ४१ किलो सुन तस्करीको रिपोर्ट बुझेर पनि एक तोला सुन खोजी गर्न र समाउन नसकेको उनको दाबी छ । ओलीले उल्टो ४ किलो सुनलाई पित्तल बनाएको उनको आरोप छ ।
‘कमरेड केपी ओलीकै पालामा छानविन आयोग बनेको थियो । जुन ०७० सालदेखि ०७४ सालभित्र ७ हजार ४ सय ९९ केजी सुन तस्करी भएको रिपोर्ट केपी ओलीले बुझ्नुभयो, उहाँ प्रधानमन्त्री हुनुहुन्थ्यो । तर, एक तोला सुन खोज्नु भएन ।’ उनले भने, ‘पछि ३३ किलो सुन प्रकरण आयो, एक तोला खोजिएन, त्यसपछि ९ तोला सुन र पछि ४ केजी सुन त पित्तल नै बनाउनुभयो । सुन तस्करी प्रकरण दुनियाँलाई थाहा छैन ?’
अहिलको सुन तस्करी प्रकरणमा सुन एमालेले नसमाएको भन्दै उनले सम्बन्धित निकायले छानविन गरिरहेको बताए । एमालेको उद्देश्य सुन तस्करी प्रकरणमा छानविन आयोग गठन गरेर विषयान्तर गर्ने र संलग्नलाई उन्मुक्ति दिने भएको उनको आरोप छ ।