काठमाडौं, १२ असोज । अर्थमन्त्री डा. प्रकाशशरण महतले देश विकास र समृद्धिका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुनुपर्ने बताएका छन् । आज (शुक्रबार) काभ्रेको चैतन्य एकेडेमीले आयोजना गरेको सुशासन, दीगो विकास र समृद्धि विषयक छलफलमा बोल्दै मन्त्री डा. महतले यस्तो बताएका हुन् ।
‘राजनीतिक दलहरुबीच द्वन्द्व हुन्छ, बहस हुन्छ, चुनाव हुन्छ, हार जीत हुन्छ यी सबै स्वभाविक प्रकृया हुन् । तर देशले एउटा कोर्ष लिनुपर्छ, विकास हुनुपर्छ, समृद्धि सिर्जना हुनुपर्छ, यसका लागि सम्पूर्ण राजनीतिक दल एकमत हुन जरुरी छ,’– उनले भने ।
साथै, अर्थतन्त्रले विस्तारै लय पक्रिदै गरेको उनको दाबी छ । अर्थतन्त्रमा केही सुधार आएको र केही सुधारको क्रममा रहेको उनले बताए । सेयर बजार र घरजग्गा किनबेचमा चाहिनेभन्दा अप्राकृतिक ढंगले वृद्धि भएको भन्दै यसमा सुधारको आवश्यक रहेको उनले बताए । विदेशी पर्यटक मात्रले नभएर आन्तिरिक पर्यटनले पनि अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग गर्नपर्ने उनको भनाई छ ।
‘राज्यले गर्नुपर्ने विकास खर्च धेरै छैन, हाम्रा चालू खर्च बढी छ । ऋणको दायित्व बढी छ । खर्च गर्ने क्षमता हामी बढाउँछौं, यसले पनि अर्थतन्त्र चलायमान हुन्छ । अर्थतन्त्र चलायमान हुने संकेतहरु देखिन थालेका छन्’ मन्त्री महतले भने, ‘यो संकेतसँगै हामी सकरात्मक बहस चलाउन थालौं । सबैले नकरात्मक कुरा गरियो भने आत्मविश्वास घट्छ । खराब भनिरहेको ठाउँमा किन लगानी गर्ने ? उपभोक्ताले खर्च गरेन भने माग आउँदैन, माग भएन भने लगानी हुँदैन । लगानी नभएपछि रोजगारी सिर्जना हुँदैन, रोजगारी सिर्जना नभएपछि आय वृद्धि हुँदैन । आय वृद्धि नभएपछि अर्थतन्त्र चलायमान बन्दैन । अर्थतन्त्र यसरी नै चल्ने हो ।’