काठमाडौं, १३ असोज । नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा छानविन समितिको प्रक्रिया अगाडि नबढेसम्म संसद्को कुनै पनि प्रक्रिया अगाडि बढाउन नदिने बताएका छन् ।
बर्तौलाले सरकारले तस्करहरुको संरक्षण गरेर प्रमुख प्रतिपक्षसँग गरेको सम्झौताको बेवास्ता गरेको बताए । एमालेले तस्करलाई संरक्षण गर्ने सरकारको शैलीको जयजयकार गरेर नबस्ने उनको भनाई छ । उनले एमालेले सरकारसँग राजनीतिक हिसाब किताब खोज्ने दिन आएको बताए ।
‘हामी भोलिको बैठकमा यो विषय उठाउँछौं । छानविन समितिको प्रक्रिया अगाडि नबढेसम्म हाउसका प्रक्रिया अगाडि बढ्दैन । सरकारी विजनेसलाई हामी अगाडि बढ्न दिँदैनौं । यो राजनीतिक हिसाब किताब हो । सरकारले बेइमानी गरेको छ । सम्झौता गर्ने, कार्यान्वयन नगर्ने, धोका दिने ? यो हुन सक्दैन, प्रमुख प्रतिपक्षले तस्करलाई संरक्षण गर्ने सरकारको शैलीको जयजयकार गरेर बस्दैन । त्यसको विरोध गर्छ, भण्डाफोर गर्छ,’– रिपोर्टर्स नेपालसँगको संक्षिप्त कुराकानीमा उनले भने ।