Logo

‘भ्रमपूर्ण समाचारको बिगबिगीमा व्यावसायिक पत्रकारिताको खाँचो छ’



काठमाडौँ, १४ असोज । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज)का अध्यक्ष गजुरधन राईले भ्रमपूर्ण र झुटा समाचारको बिगबिगी बढेको भन्दै व्यावसायिक पत्रकारिताको अभ्यास गर्न आह्वान गरेका छन् ।

किरात राई पत्रकार सङ्घ नेपालको १६औँ स्थापना दिवसका अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले पत्रकारितामा नविनतम प्रविधिको अधिकतम सदुपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भने, “फेक न्युजको बढेको अवस्थामा व्यावसायिक पत्रकारितामा विशेष ध्यानदिनुपर्छ । समाचार लेख्दा विचलित नभइ विषयवस्तुमा मुखरित भएर लेख्नुपर्छ ।”

कार्यक्रममा किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताछो राईले देश विदेशमा रहेका सम्पूर्ण पत्रकारलाई शुभकामना व्यक्त गर्दै किरात राई समुदायको विषय उजागर गर्न पत्रकारको भूमिका अहम् हुने बताए ।

उनले भने, “यायोक्खाको अभियान र आन्दोलन सफल बनाउन किरात समुदायका पत्रकारले हातेमालो गर्नुपर्छ ।”

सङ्घका संस्थापक अध्यक्ष गणेश राईले सञ्चारसंस्था÷सञ्चारमाध्यममा बढदो आर्थिक सङ्कटले व्यावसायिक पत्रकारितामा चुनौती थपेको भन्दै नयाँ प्रविधिको प्रयोगलाई सामाजिक उत्तरदायित्वसहित बहन गर्न सुझाव दिए ।

सङ्घका अध्यक्ष अवतार राईले पत्रकारितामा मातृभाषलाई स्थापित गर्ने लक्ष्य लिएर सङ्घ अघि बढेको जानकारी दिए । दिवसका अवसरमा ओखलढुङ्गाका कुम्भराज राई र उदयपुरका गजेन्द्र राईलाई सम्मानपत्रसहित नगद १० हजारसहित पुरस्कृत गरिएको थियो । रासस



प्रतिक्रिया दिनुहोस्