काठमाडौं, १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू पार्टीलाई नयाँ बनाउने भन्दापनि पुरानैतिर फर्काउन पर्छ भन्ने विश्वासमा रहेको बताएका छन् ।
नुवाकोटको बेलकोटगढी नगरकार्यसमितिले आयोजना गरेको पार्टी रुपान्तरण अभियानमा सम्बोधन गर्दै उनले कांग्रेसलाई २००७ सालको जस्तको क्रान्तिको चेत भएको, ०१५ सालको जस्तो प्रगतिशील सोच भएको, ०४६ सालको जस्तो लोकप्रिय र ०६२ सालको जस्तो जनउत्तरदायि बनाउन आवश्यक रहेको बताए ।
कांग्रेसलाई कांग्रेसजस्तो बनाउने कुरा नै रुपान्तरणको मर्म रहेको उनको भनाई छ । कांग्रेसको धर्म देशवासीको हित गर्नुभएको उनले बताए ।
रुपान्तरको नाममा माओवादीले नयाँ नेपाल भनेकाजस्तो कांग्रेसले पार्टीलाई बनाउन नहुने उनको भनाई छ । ‘कुनै बेला माओवादीले आएर नयाँ नेपाल भन्दिएर एउटा क्यानभास हामीलाई परिकल्पना गर्न लगाइदियो । त्यहाँ जसले जे पोत्दिएपनि भयो । नयाँ नेपाल कस्तो हो भन्दा पुरानो होईन भन्दियो । तर, नयाँ कस्तो हो थाहा छैन । उसले पुरानो होइन भन्दियो । हामीले पनि अहिले कांग्रेस रुपान्तरण र कांग्रेस बदल्ने भन्दै गर्दा कांग्रेस नयाँ बनाउने भनेको के हो ? म चाहिँ नयाँ होईन पुराना कुरा खोज्नपर्छ भन्नेमा छु त्यसलाई पनि म रुपान्तरण हो भन्ने मान्छु,’– थापाले भने ।