Logo

राजनितिक विश्लेषक रायमाझीको प्रश्नः ‘बुद्धको देशबाट चीनमा मासु निर्यात गर्दा विश्वमा कस्तो सन्देश जाला ?’



काठमाडौं, १५ असोज । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेपालबाट चीन मासु निर्यात गर्ने सम्झौता बहुसंख्यक ॐ कार परिवारको भावना र मर्म विपरित भएको बताएका छन् । पाशुपतक्षेत्र, गौतमबुद्धको जन्मभूमिजस्तो देशबाट मासु निर्यात गर्दा विश्व समुदायमा नराम्रो सन्देश प्रवाह हुने उनको भनाई छ ।

‘नेपालजस्तो धार्मिक एवं पवित्र विविध संस्कृतिबाट अनुप्राणित भएको देशमा हिंसाको कल्पना पनि गर्न सकिँदैन। पाशुपतक्षेत्र, गौतमबुद्धको जन्मभूमि, सीताको देशका वासिन्दाहरुले यो पवित्र भूमिबाट मासु निर्यात गर्नु खोज्छन् भने संसारमा के सन्देश जान्छ ?’ रिपोर्टर्स नेपालसँग संक्षिप्त कुराकानी गर्दै उनले भने ।

चीनजस्तो भीमकाय जनसंख्या भएको देशलाई नेपालबाट मासु निर्यात गर्ने व्यापारिक सम्झौता गर्नु समस्त हिन्दु धर्मावलम्बीहरुका लागि नयाँ चुनौती बनेर आउने उनको भनाई छ। शान्ति र अहिंसाको पवित्र सन्देश छर्ने देश भनेर विश्वमा गर्वसाथ चिनिएको देशमा पशु वधशाला खोल्नु उपयुक्त नहुने उनले बताए । चीनले नेपालबाट पशुजन्य मासु आयात गर्ने सम्झौतालाई रद्द गर्नुपर्ने उनले बताए ।

बौद्ध दर्शनमा गौरव गर्ने चीन सरकारले नेपालमा बधशाला बनाउने सोच राख्नु पनि शोभनीय नहुने उनले बताए । बहुसंख्यक नेपालीहरुको धार्मिक पहिचानमा नै आँच पुग्नेगरी नेपालले व्यापार गर्नुपर्ने आवश्यकता नरहेको उनले बताए ।

व्यापारका नाममा संस्कृतिलाई तिलाञ्जली दिन खोजेमा नेपालका धार्मिक संघसंस्थाहरु मुखदर्शक बन्न नहुने उनको भनाई छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले सम्झौताको बुँदा तत्काल सच्याउन आवश्यक रहेको उनले बताए । अन्यथा ठूलो मूल्य एवं आदर्श चुकाउन पर्ने उनको चेतावनी छ ।



प्रतिक्रिया दिनुहोस्