काठमाडौं, १५ असोज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन दलका नेताहरु भ्रष्टाचारका हिमायती भएको आरोप लगाएका छन् । आज (सोमबार) पार्टीको गण्डकी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भ्रष्टाचार सत्ता गठबन्धन दलका नेताहरुको शासकीय चरित्र भएको बताएका हुन् ।
‘जति भ्रष्टाचारका घटनाको छानविन हुनेछ, अन्त्यमा जेल जाने काम सत्ता गठबन्धन दलका नेताहरुको हुनेछ । किनकी उनीहरु भ्रष्टाचारका हिमायती हुन् । भ्रष्टाचार उनीहरुको शासकीय चरित्र हो भन्ने कुरालाई तपाईँ हामी सबैले बुझ्न जरुरी छ,’– महासचिव पोखरेलले भने ।
सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्धको अभियानलाई उनले नाटकको संज्ञा दिए । सरकार सुशासनको पक्षमा नरहेको र त्रिभुवन अन्तराष्टिय विमानस्थलको भन्सार कार्यालय बाहिर समातिएको सुनले सत्ता गठबन्धन दलमा रहेको नेताहरुको चरित्र उदाङ्गो पारिदिएको उनको भनाई छ ।
सरकारले अमुक घटनाको बारेमा छानविन गर्छु भनेर प्रमुख प्रतिपक्षी एमालेलाई तर्साउन खोजेको उनले बताए । महासचिव पोखरेलले एमाले जुनसुकै प्रकरणको पनि छानविनका लागि तयार रहेको बताए । (एमाले सदैव भ्रष्टाचारको विरुद्धमा र सुशासनको पक्षमा रहेको बताउँदै उनले जुन घटनाको छानविन गरेपनि सत्ता गठबन्धन दलका नेताहरुनै जेल जाने निश्चित रहेको दाबी गरे । File Photo/RN