Logo

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी



काठमाडौं,१६ असोज । बाँकेको नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले आज दिउसो १:०० बजे देखि लागू हुने गरी अनिश्चित कालसम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरेको हो ।

हिन्दूहरुको समूह भेला भएर प्रदर्शनमा उत्रिएपछि झडप हुनसक्ने र सदभाव बिग्रिने संकेत देखिएपछि कर्फ्यू जारी गरिएको हो । सामाजिक र धार्मिक सद्भाव भड्किने संकेत देखिएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।

म‌गलबार दिउँसो १ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यद्वारा जारी सूचनामा जनाइएको छ।

पूर्वमा राप्ती नदी, पश्चिममा खजुराको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा नाकाभित्र भेला, जुलुश तथा सभा समारोह, हुलहुज्जत गर्न नपाइने प्रशासनले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्