काठमाडौं,१६ असोज । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा सोमबारदेखि इजलासमा बस्न छाडेका छन्।
२०७३ साउन १७ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीशमा नियुक्त भएका सिन्हाले उमेर हदले अवकाशमा जाने समय नजिकिएपछि इजलासबाट आफूलाई अलग गरेका हुन्।
सिन्हाले कात्तिक १४ देखि अनिवार्य अवकाश पाउनेछन्। त्यसको एक महिना अघिदेखि उनले मुद्दा हेर्न छोड्ने निर्णय गरेका हुन्। अवकाश पाउनुभन्दा एक महिनाअघि बिदा बस्ने न्यायीक परम्परा नै हो। सोही परम्परा अनुसार नै सिन्हाले असोज १५ गतेदेखि आफूलाई इजलासबाट अलग गराएका हुन्।
वाणिज्य कानुनका ज्ञाता सिन्हा (कर्पोरेट वकिल) का रुपमा चर्चित रहेका छन्। उनका पिता सुशीलकुमार सिन्हा पनि तत्कालीन समयका चर्चित कर्पोरेट लयर थिए। सिन्हाको मामाघरतिरका हजुरबुवा देवनाथ बर्मा नेपालको पहिलो वकिल हुन् ।
न्यायाधीश सिन्हाले पनि इजलासमा बस्न छाडेपछि सर्वोच्चमा न्यायाधीशको संख्या १४ मा झरेको छ । हाल सर्वोच्च अदालतमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल, नहकूल सुवेदी, कुमार रेग्मी, हरिप्रसाद फुयाल, मनोजकुमार शर्मा, कुमार रेग्मी, कुमार चुडाल, विनोद शर्मा, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, र प्रकाशमानसिंह राउत कार्यरत रहेका छन् ।
संविधानमा सर्वोच्च अदालतमा २१ जना स्थायी न्यायाधीश हुने उल्लेख छ। तर यो संख्या पूर्ति हुन सकेको छैन। सर्वोच्चमा नियुक्तिका लागि केही छलफल भए पनि न्याय परिषद्मा सहमति हुन सकेन। परिषद्का अध्यक्ष एवं प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठले परिषद्को बैठकमा सर्वोच्चबाट नियुक्ति थाल्ने प्रस्ताव गरेका थिए। तर सदस्यहरुका बीचमा सर्वोच्चको हकमा सिफारिस गर्ने व्यक्तिहरुको नाममा सहमति नभएपछि जिल्ला र उच्च अदालतमा नियुक्ति भएको थियो।