काठमाडौं,१८ असोज । गुण्डा नाईके रिगल भनिने योगराज ढकाललाई संविधान दिवसको अवसरमा दिईएको आममाफीविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट आज सुनुवाई हुँदैछ ।
२०७२ असार २९ गते हत्या भएका बाँके नेपालगञ्जका चेतन मानन्धकरी श्रीमती भारतीले आइतबार सर्वोच्चमा दायर गरेको उक्त रिट सुनुवाईका लागि न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा पेशी तोकिएको हो । यसअघि दुईपटक मुद्दा पेशीमा चढेपनि हेर्न नभ्याईनेमा परेको थियो ।
चेतनको हत्या आरोपमा जिल्ला अदालतबाट आजीवन कारावासको सजाय पाएका ढकाललाई गत असोज ३ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए । श्रीमानलाई खुँडा प्रहार गरेर हत्या गर्ने ढकाललाई आममाफ दिएपछि भारती प्रतिवादमा उत्रिएकी छन् । उनी मंगलबार न्यायाका लागि काठमाडौं आएकी छन् ।
रिपोर्टर्स नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै भारतीले आफ्ना श्रीमानको हत्यारालाई पुनः जेल पठाउन माग गरेकी छन् । उनले बुधबारबाट माईतीघरमा आमरण अनसनसमेत सुरु गरेकी छन् । अनसन बसिरहेकै अवस्थामा मेहोसभएपछि उनलाई हिजो वीर अस्पतालमा भर्ना गरिएको थियो ।