काठमाडौं,१८ असोज । नेकपा एमालेका नेता रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमणमा स्वर्णिम अवसर गुमाएको दाबी गरेका छन् ।
बिहीबर बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणमा राष्ट्र र राष्ट्रियतालाई मजवुद बनाउने स्वर्णिम अवसर पाउँदा पनि कार्यान्वयनमा चुक्दा उक्त अवसर खेर गएको दाबी गरे ।
उनले मुलकुको विकास, अग्रगति र गरिबी हटाउनका लागि बीआरआई कार्यान्वयनमा प्रधानमन्त्रीले हात कमाएको आरोप लगाए ।
“प्रधानमन्त्रीले एउटा स्वर्णिम अवसर गुमाउनुभयो । यहाँबाट जाँदा पहिले सम्झौता गरेको बीआरआई लागि भनेर पठाएको नौवटा योजना थियो । तिनीहरुलाई मात्रै कार्यान्वयन गरे पुग्छ भनेर धेरै विज्ञ, राजदूतहरुले सल्लाह दिएका थिए । उहाँले सार्वजनिक रुपमा भन्नुभएको थियो– बीआरआईमा हामी सामेल गर्छौँ, कार्यान्वयन गर्छौँ भनेर,” उनले भने, “तर, फर्केर आउँदा चीनमा उहाँको हात किन काम्यो थाहा छैन । नेपालले एउटा मौका गुमायो । राष्ट्रको पूर्वाधारमा भूमिका खेल्न सक्ने अवसर मुलुकले गुमायो । कमजोर नेतृत्व देशमा भएपछि कसरी अघि बढ्न सक्छ ?”
उनले ऋणको पासोमा परिन्छ भनेर बीआरआई कार्यान्वयन नगर्ने भनी गलत प्रचार गरिरहेको दाबी गरे ।