काठमाडौं, १८ असोज । सर्वोच्च अदालतले रिगल भनिने योगराज ढकालको आममाफी प्रकरणमा महान्यायाधिवक्ता दिनमणि पोखरेललाई वहसमा आफैं उपस्थित हुन आदेश दिएको छ ।
रिगलको आममाफीविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाई गर्दै न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले अर्को पेशीका दिन महान्यायाधिवक्तालाई वहसमा आफैं आउन भनेको हो ।
‘प्रस्तुत निवेदनमा महान्यायाधिवक्ता स्वयम् समेतलाई बहसमा उपस्थित हुनु भनी महान्यायाधिवक्ताको कार्यालयलाई लेखी पठाउनू,’– आदेशमा भनिएको छ ।
उक्त मुद्दामा सर्वोच्चले सरकारसँग आममाफी दिनुको कारण सोधेको छ । आममाफी दिनुको कारण सात दिनभित्र लिखित पेश गर्न भनिएको छ ।