काठमाडौं,१९ असोज । प्रतिनिधि सभाको बैठक जारी छ । बिहान ११ बजेदेखि जारी बैठकमा सांसदहरुले आ-आफ्नो धारण राखिरहेका छन् ।
आजको प्रतिनिधि सभा बैठकको शून्य समयमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले दिएको अभिव्यक्तिप्रति सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल (राजन)ले आपत्ति जनाएका छन् ।
शुक्रबारको बैठकको शून्य समयमा राप्रपा अध्यक्ष लिङ्देनले ज्ञानेन्द्र शाहलाई राजा भनेपनि माओवादी सांसद दाहालले आपत्ति जनाएका हुन् । उनले उक्त रेकर्ड संसद्बाट हटाउनसमेत माग गरेका छन् ।
उनले भने, ‘नेपालको संविधानले राजा चिन्दैन । एकजना माननीयज्यूले सदनमा राजा भन्ने शब्द प्रयोग गर्नुभयो । यो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुको हो । त्यसैले राजा भन्ने शब्द रेकर्डबाट हटाउन माग गर्दछु ।’
यसअघि बोल्दै राप्रपा अध्यक्ष लिङ्देनले शाहलाई राजा भनेर सम्बोधन गरेका थिए ।
उनले भनेका थिए,‘केही साथीहरूले राजावादीहरू धार्मिक सद्भाव बिथोल्न लागेका छन् । त्यसलाई निगरानी गर्नुपर्यो । राजा ज्ञानेन्द्र पनि लोकतन्त्र गतिविधिमा ध्यान दिनुपर्यो आग्रह गरे । कुन त्यस्तो गतिविधि रहेछ राजावादीहरूको त्यस्तो जसले धार्मिक सद्भाव बिथोल्न लागेको छ । राजा ज्ञानेन्द्रको कुन त्यस्तोगतिविधि रहेछ जसले लोकतन्त्रलाई अवरुद्ध गरिरहेको छ । त्यसको त्यसको जानकारी लिन चाहन्छु ।’
सांसद दाहालले नियमापत्ति जनाएपछि सभामुख देवराज घिमिरेले आफ्नो ध्यानाकर्षण भएको जनाएपनि उक्त अभिव्यक्ति रेकर्ड हटाउन भने कुनै इच्छा देखाएनन् ।