जनकपुरधाम, १९ असोज । डा. रामनरेश पण्डितको नाम मधेस र विशेष गरी जनकपुरबासीका लागि नौलो होइन । स्त्री रोग तथा प्रसूतिका लागि पण्डित यस क्षेत्रमा पहिलो नम्बरको डाक्टरमा गनिन्छन् ।
प्रादेशिक अस्पताल जनकपुरधामको निर्देशक समेत रहेका उनले पछिल्लो डेढ दशकदेखि यसै क्षेत्रमा आफूलाई अब्बल प्रमाणित गर्दै आएका छन् । डा. पण्डित मधेस प्रवेश गरेका बेला प्रदेशमा प्रसूति शल्यक्रिया वीरगञ्ज र जनकपुरमा मात्रै सीमित थियो । तर त्यहाँ पनि सेवाग्राहीको सङ्ख्या पातलो थियो । “सुरुमा सुरक्षित प्रसूतिका लागि धेरै ठाउँमा शल्यक्रिया सेवा नै थिएन, न त यो विधामा धेरै चिकित्सक नै थियौँ । हाम्रो अथक प्रयासले नागरिकमा सेवाप्रति भरोसा र विश्वास जगाउन सक्यौ”, डा पण्डितले भने ।
पढाइमा अब्बल
महोत्तरीको मनरा शिसवा नगरपालिका–८ मा जन्मिएका डा. पण्डितले गाउँकै बथनाह स्कुलबाट विद्यालय शिक्षा पढे। उच्च शिक्षा भने चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज (टिचिङ हस्पिटल) काठमाडौँबाट हासिल गरे । डा. पण्डितले सामान्य चिकित्सा (एचए), एमबीबीएस, स्त्री तथा प्रसूति रोगमा एमडी गरेका छन् ।
“विसं २०४२ मा एसएलसी गरेपछि २०४६ सादलमा एचए, २०५४ एमबीबीएस र २०५८ मा एमडीको पढाइ सकाएँ । त्यो समय स्त्री तथा प्रसूति रोगमा गिनेचुनेका मान्छेले मात्रै एमडी गर्थे । त्यही बेला मैले पनि अध्ययन पूरा गरेकामा अहिले गौरब महसुस हुन्छ”, उनले भने । उनले सरकारको छात्रवृत्तिमै सबै तहका अध्ययन पूरा गरेका हुन् ।
“उच्च शिक्षाका सबै तह सरकारको पूर्ण लगानीमा पढेँ । पैसा छैन, पढ्न पाइँदैन कि भन्ने चिन्ता कहिल्यै गर्नुपरेन । यो मेरो लागि सौभाग्य र आम विद्यार्थी तथा जिज्ञासुका लागि पनि प्रेरणाको विषय हुनसक्छ”, डा. पण्डितले भने ।
सेवामा पनि अब्बल
विसं २०५८ मा उच्च शिक्षाको अध्ययन पूरा गरेपछि डा. पण्डितले सोही वर्ष जेठमा जनकपुर आए । जागिरको सिलसिलामा केही समय सर्लाहीको लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्र, महोत्तरीको बर्दिवास अस्पताल र उदयपुरमा काम गरे । त्यसअघि सामान्य चिकित्सा विषयमा अध्ययनपछि काठमाडौँको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथलीमा स्थायी जागिरेका रुपमा सेवा गरे ।
“सेवा सुरु गरेको २२ वर्षमा केही समय बाहिर रहेँ हुँला तर त्यसपछि निरन्तर जनकपुरमै छु । पछिल्लो १५/१६ वर्षदेखि त प्रादेशिक अस्पतालबाट कार्यसम्पादन गरिरहेको छु । यसरी आफ्नै क्षेत्रका नागरिकको सेवा गर्न पाउनु मेरो सौभाग्य पनि हो”, डा. पण्डितले भने ।
यस अवधिमा प्रादेशिक र निजी अस्पतालमा समेत गरी सानोतिनोबाहेक करिब १० हजार जति शल्यक्रिया र लाखौँ नागरिकको उपचार गर्ने अवसर पाएको उनले बताए । “म प्रादेशिक अस्पतालमा आउँदा प्रसूति वार्डमा प्रायः बेड खाली हुन्थे । नागरिकको विश्वास जित्न धेरै प्रयत्न ग¥यौँ, जसले नागरिकलाई आकर्षित गर्दै लग्यो । अहिले त बेड पाउनै मुस्किल छ”, उनले स्मरण गरे, “त्यसको मुख्य कारण सरकारी नीति, गुणस्तरीय सेवा र जटिल अवस्थामा पनि सहजरुपमा काम गर्ने हामीजस्ता चिकित्सक नै हौँ ।”
अनुभव र सिकाइ
चिकित्सा क्षेत्रमा डाइग्नोसिसअर्थात् रोगको पहिचान सबैभन्दा जटिल र महत्वपूर्ण विषय भएको बताउने डा पण्डित त्यसमा आफू नेतृत्वको टिमले प्रदर्शन गरेको सफलताले नै जनकपुरलाई प्रसूति सेवाको ‘हब’ बनाउन सहजभएको धारणा राख्छन् । “सेवा अवधिमा १० हजार पटक शल्यक्रिया गरेको हुँदा, तर त्यसमा पनि २० देखि २५ वटा जटिल बिरामीलाई बचाउन सफल भएको क्षणले मलाई हरक्षण सेवामा खटिन ऊर्जा दिइरहन्छ”, उनले भने ।
डाक्टरका रुपमा सबैभन्दा आनन्द कति बेला आउँदो रहेछ ? हामीले सोधेको प्रश्नमा डा. पण्डितले भने, “खोइ के हुने हो भन्दै अपरेसन थिएटर पसेको डाक्टरको टोली सफल भए फर्केको क्षण सबैभन्दा आनन्द दिने खालको हुन्छ, बिरामी र उनीहरुका आफन्तले पनि धन्यवाद दिनुहुन्छ ।”
उनका अनुसार ‘युट्राइन इन्भर्सन’ अर्थात् बच्चा जन्मिएपछि पाठेघर उल्टिने समस्यालाई जटिल मानिन्छ । त्यस्तो बेला बिरामीलाई अर्को ठाउँमा रेफर गर्ने विकल्प पनि रहँदैन । त्यसैले तत्काल सही उपचार नपाएमा अत्यधिक रक्तस्रावका कारण आमाको ज्यान जान्छ । यस्ता कैयन जटिल केसमा सफलता प्राप्त गर्दा आफ्नो अध्ययन, सिकाइ र जीवनको लक्ष्य नै सफल भएको अनुभूति हुने गरेको डा. पण्डितको भनाइ छ । बच्चा पेटमा भएका बेला ब्लडप्रेसरका कारण कम्पन हुने समस्या र गर्भपतनको बेला पाठेघरमा प्वाल परेको समस्यालाई पनि सफलतापूवर्क निदान गरेको परिघटनाले थप जिम्मेवार बनाउने गरेको डा पण्डितको भनाइ छ ।
डा. पण्डित अहिलेसम्मको अनुभव र सिकाइ अब सोही अस्पतालको श्रीवृद्धिमा प्रयोग गर्ने योजनामा छन् । “म निर्देशकको रुपमा आएपछि मुटुरोग सेवा सुरु गरिसकेका छौँ । अब चाँडै एमआरआई, क्याथल्याब, न्यूरो सर्जरी, क्यान्सरको सेवा सुरु गर्ने तयारीमा छौँ । त्यसबाहेक यहाँको फोहर व्यवस्थापनका लागि नागरिक र पूर्वाधार निर्माणका लागि सरकारले सक्दो सहयोग गरेमा गुणस्तरीय सेवा दिन हामी कटिबद्ध छौँ”, उनले योजना सुनाए ।
समस्या के छ ?
मधेस जनसङ्ख्याको हिसाबले ठूलो र सबैभन्दा बढी जन्मदर भएको प्रदेश पनि हो । त्यस हिसाबले यहाँ पर्याप्त सरकारी अस्पताल र स्वास्थ्य पूर्वाधार हुनु आवश्यक छ । मुलुकमा सङ्घीयता आएपछि मधेसका दुई ठाउँमा सीमित प्रसूति शल्यक्रिया सुविधा सबैजसो मुख्य अस्पतालमा पुगे पनि त्यसलाई सुविधासम्पन्न बनाउन जरुरी रहेको डा. पण्डितको भनाइ छ ।
त्यस्तै पाँच वर्ष पहिले यस प्रदेशमा शल्यक्रियामार्फत बच्चा जन्माउने दर पाँच प्रतिशतभन्दा कम थियो । त्यो विश्व स्वास्थ्य सङ्गठनको मापडण्डअनुसार सुरक्षित प्रसूति सेवाको पहुँच नपुगेको सङ्केत हो । तर सङ्घीयतापछिका वर्षमा सुरक्षित प्रसूति सेवा पुगेकै कारण देशको मातृ मुत्युदरप्रति १० लाखमा एक सय ५१ हुँदा मधेसमा भने एक सय ४२ हुनु सुखद् पक्ष भएको डा. पण्डितले बताए ।
डा पण्डितका अनुसार लिङ्ग पहिचान गरी हुने गर्भपतन यहाँको अर्को डरलाग्दो समस्या हो । “गर्भपतनले कानुनी मान्यता नपाउनुभन्दा अघि महिलाले अकालमा ज्यान गुमाउनुपथ्र्यो । गर्भपतनको अधिकार पाएपछि भने ‘सेक्स सेलेक्टिभ एभोर्सन’ बढ्दै गएको छ । परिणामस्वरुप छोरीहरुले गर्भमै तुहिनुपर्ने अवस्था छ । त्यसै कारण त मधेसमा एक सय जना महिलामा एक सय १८ पुरुष छन्”, डा. पण्डितले भने । उनका अनुसार धनुषाको अवस्था झन विकराल छ । यस जिल्लामा एक सय महिलामा एकसय ३६ पुरुष छन् । अल्ट्रासाउण्डबाट लिङ्ग पहिचान गरेर भ्रुण हत्या समयमै रोक्न नसकेमा लैङ्गिक सन्तुलनमा गम्भीर समस्या आउने छ ।
डा पण्डितले चिकित्सकको भूमिकाका कारण निम्तिने अविश्वासको सङ्कट पनि समस्याका रुपमा रहेको धारणा राखे । त्यसैले उनले आवश्यक नभएको अवस्थामा पनि पैसाकै लागि डाक्टरले शल्यक्रिया गर्ने गरेको आरोप चिर्नुपर्ने आवश्यकता औँल्याए । रासस