काठमाडौं, २० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल आज (शनिबार) विहानैदेखि सक्रिय भएका छन् । संक्रमणकालिन न्याय टुँगो लगाउने विषयमा प्रधानमन्त्री दाहालले आफूलाई सक्रिय बनाएका छन् । प्रधानमन्त्री दाहालले आज एकै समय पारेर एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन् ।
भेटवार्ता भने छुट्टाछुट्टै भएको जनाईएको छ । एमाले अध्यक्ष ओलीले भने समसामयिक विषयमा पनि छलफल गरेका थिए । उनले कोशी प्रदेशमा आफ्नो पार्टीका नेता हिक्कमत कार्की नेतृत्वको सरकारलाई विश्वासको मत दिन पनि प्रधानमन्त्री दाहालसमक्ष प्रस्ताव राखेको बुझिएको छ । यसका अलावा दुई नेताबीच संक्रमणकालिन न्यायसम्बन्धी विषय टुँगो लगाउनेबारे छलफल भएको बताईएको छ ।
उता, माधव नेपालले भने प्रधानमन्त्री दाहालसँगको भेटमा सरकारलाई प्रभवकारी बनाउने बारेमा छलफल भएको प्रतिक्रिया दिएका छन् । खासगरी अर्थतन्त्र चलायमान बनाउने र देशका समस्या समाधान गर्ने बारेमा छलफल भएको उनको प्रतिक्रिया थियो । कतिपयले भने प्रधानमन्त्री दाहाल, ओली र माधव नेपालबीचको भेटवार्तालाई भने कोशी प्रदेशको सरकारको स्थायित्वको लागि सहकार्यको लागि पहलकदमीको रुपमा लिएका छन् । file photo