काठमाडौं,२१ असोज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले भन्सार नियमावली सच्याउन माग गर्दै भन्सार विभागमा धर्ना दिने भएको छ । आजपाले आज भन्सार नियमावलीबाट ४५ प्रतिशत पुरस्कार दिने प्रावधान हटाउन माग गर्दै धर्ना दिन लागेको हो ।
आजपाले भन्सार नियमावलीको परिच्छेद १० को दफा ४७,४८ र ४९लाई सच्याउन माग गर्दै निरन्तर संघर्षका कार्यक्रमहरु गर्दै आएको छ । आजपाले उक्त दफामा गरिएको व्यवस्था अनुसार कुनै चोरी निकासी वा पैठारीको माल समान पक्राउ गरी भन्सार कार्यालयमा बुझाउनेलाई ३० प्रतिशत र त्यसको सुराक दिनेलाई १५ प्रतिशत गरी कुल रकमको ४५ प्रतिशत रकम पुरस्कार स्वरूप व्यक्तिलाई दिने व्यवस्था छ । अर्थात् भन्सार छलिको माल समानबाट प्राप्त रकमको झण्डै आधा ४५ प्रतिशत पैसा व्यक्तिको निजी हुने व्यवस्था लाई खारेज गर्नुपर्ने माग गर्दै आएको छ । आजपाले भदौ ३० गतेबाट जारी राखेको संघर्षका विभिन्न कार्यक्रमअन्तर्गत आज भन्सार विभागमा धर्ना दिन लागेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
‘देशको संसदलाई छलेर कथित नियमावलीमा पुरस्कारको गलत प्रावधानले देशको राजस्व सरकारी ढुकुटीमा जम्मा हुनुको सट्टा राजस्व संकलनमा संलग्न कर्मचारी र सुरक्षाकर्मीहरुको निजि खातामा गईरहेको छ । नेपालको संविधान र प्रचलित कानुन अनुरुप कसैले कसैलाई पक्रउ गर्ने वा कसैको माल समान खोसन्ने अधिकार केवल सम्बन्धित कर्मचारी वा सुरक्षा निकायसंग मात्र छ । अर्थात, उपरोक्त नियमावलीमा राखिएको कथित पुरस्कारको व्यवस्था सरकारी कर्मचारीको लागी मात्र रहेको व्यवहोरा स्पष्ट छ’ । आजपाले भनेको छ ।
‘देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको अवस्थामा बजारमा पैसाको हाहाकार छ । लक्ष्य अनुरुप राजस्व उठन सकेको छैन। अपेक्षाकृत वैदेशिक सहायता ऋण वा अनुदान प्राप्त भएको छैन। विदेशी लगानी करीब-करीब शून्य छ । देशबाट पुँजी पलायनता बढ्दो छ । आयात र निर्यातमा ठूलो असन्तुलन छ । पैसाको अभावमा राष्ट्रिय गौरवको आयोजनाहरुको निर्माण कार्य प्रभावित भएको छ। निर्माण कार्यको पुरानो भुक्तानी समेत सरकारले दिन सकेको छैन । सारमा भन्नु पर्दा हाम्रो अर्थतन्त्र क्रमश धरासाही हुँदै गएको स्थितीमा उक्त नियमावलीलाई हटाउनु जरुरी छ’ । आजपाले विज्ञप्तिमार्फत भनेको छ ।