काठमाडौँ, २१ असोज । केही महिनाअघि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले जलनसम्बन्धी अनुभव र अठोट अन्तर्राष्ट्रिय मञ्चमा सुनाएका छन् ।
अमेरिकाको वासिङ्टन डिसीमा शनिबार सुरु भएको ‘वर्न सर्भाइभर्स्’ सम्मेलनमा उनले जलनबाट शरीरमा चोट लागेर कमजोर भएपनि आत्मबलमा कुनै असर नगरेको बताएका उनको सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
सांसद भण्डारीले आगोले कुनै व्यक्तिको शरीरसँगै भावना पनि जलाएको र परिवारका सदस्यहरूको शक्ति कमजोर बनाएको बताएका थिए । उनले भने, “मेरो जस्तो विकासशील देशमा त यसले आर्थिक रूपमा पनि जलाउँदो रहेछ ।”
नेता भण्डारीले शारीरिक, मानसिक र पारिवारिक रुपमा जलेपनि आफूले भने पुनर्जीवन पाएकाले अबको जीवन आगोको चोटबाट बच्न सचेतना जगाउन र जलेकाहरुको उपचारमा सघाउन केन्द्रित गर्ने अठोट पनि विश्व समुदाय सामू व्यक्त गरे ।
उनले यसप्रकारका घटना न्यूनिकरणका लागि यस क्षेत्रमा योगदान गर्न सके मात्रै आफ्नो पुनर्जन्मको सार्थकता रहने बताए । अन्तर्राष्ट्रिय समुदायबीचमा आफ्नो अनुभव र जलनसम्बन्धी नेपालको अवस्थाबारे जानकारी गराउन र अन्तर्राष्ट्रिय अभ्यास, अनुभव र सहयोग नेपाल भित्र्याउन आफू उत्सुकताका साथ सम्मेलनमा सहभागी भएको उनको भनाइ थियो ।
सम्मेलन आयोजक संस्था ‘फिनिक्स सोसाइटी फर बर्न सर्भाइभर्स’बाट जलेका बिरामीको आवश्यकता र चुनौती बुझेर उनीहरूका लागि थप चिकित्सा अनुसन्धानका मुद्दालाई सम्बोधन गर्न सहयोगको अपेक्षा गरेको उल्लेख गरे । त्यसैगरी विश्वव्यापीरुपमा जलनको सचेतना, उपचार, हेरचाह र अनुसन्धानलाई प्राथमिकता दिन सम्बन्धित देशका सरकारलाई दबाब दिनुपर्ने, विश्वव्यापीरूपमा जलेर बाँचेकाहरुका लागि अभिभावकत्व प्रदान गर्नुपर्ने, पीडितका परिवारलाई भरपर्दो सहयोग प्रदान गर्नुपर्नेतर्फ पनि उनले ध्यानाकर्षण गराएका थिए ।
सम्मेलनमा नेता भण्डारीसँगै उनकी धर्मपत्नी डा. लक्ष्मी पाण्डेय, जलन विषेशज्ञ प्रा. डा. शङ्करमान राई, फिजियो थेरापी विज्ञ मोहन डङ्गोल सहभागी छन् ।
कांग्रेस नेता भण्डारीको काठमाडौँको बुद्धनगरस्थित निवासमा गत फागुन ३ गते राति आगलागी हुँदा जलेर घाइते भएका थिए । उनलाई सुरुमा कीर्तिपुरको वर्न सेन्टर र त्यसपछि थप उपचार भारतको मुम्बइस्थित नेसनल बर्न सेन्टरमा गराइएको थियो । रासस/File photo