काठमाडौं,२१ असोज । गत वर्षको पुस महिनामा विद्युतिय सिग्रेटमा राखेर नेपाल भित्र्याईएको ९ किलो सुन प्रकरणमा सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा नचल्ने भएको छ ।
उक्त प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले महराविरुद्ध मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको हो । सीआइबीले उनका छोरा राहुलसहित ३ जनाविरुद्ध भने संगठित अपराधमा मुद्दा चलाउन सरकारी वकिलसमक्ष राय पेश गरेको छ ।
सीआईबीले आइतबार सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको प्रतिवेदनमा राहुल महरा, दावाजिन वाङका चालक लोकेन्द्र पौडेल र दावा छिरिङलाई मुद्दा चलाउन सिफारिस गरिएको छ ।
सीआईबीले संगठित अपराधको कसुरमा ६० दिनसम्म अनुसन्धान गरेर पठाएको प्रतिवेदनको आधारमा २७ असार २०७० मा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्ता भएपछि यो प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महरा पनि जोडिएको खुलेको थियो ।
महरामाथि भन्सालृे बरामद गरेको उक्त सुन छुटाउन अनावश्यक दबाब दिएको आरोप लाग्ने गरेको छ । उनीसँग सीआइबीले केहि दिनअघि कागजी बयान लिएको थियो । उक्त प्रकरणमा महराका बावुछोरामाथि कारबाही गर्नुपर्ने आवाज सडकदेखि सदनसम्म उठेको थियो । तीव्ररुपमा दबाब बढ्दै गएपछि सीआईबीले महरापुत्र राहुललाई गत भदौं १३ गते पक्राउ गरेको थियो । उनी हालपनि प्रहरीको हिरासतमै रहेका छन् ।