काठमाडौं, २३ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सचिव योगेश भट्टराईले मधेश प्रदेशको विकासको लागि आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने आवश्यकत्ता औंल्याएका छन् । उनले मधेशको विकासको लागि एमालेको मुख्यमन्त्री आवश्यक भैसकेको बताएका हुन् ।
आज (मंगलबार) मधेश प्रदेशको राजधानी जनकपुरमा आयोजित पार्टीको प्रदेश अधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टराईले यस्तो बताएका हुन् ।
उनले आगामी चैत मसान्तसम्म संगठनात्मक रूपमा पार्टी तन्दुरुस्त बन्ने पनि दाबी गरे । भट्टराईले एमाले अहिले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा लागिरहेको र चैत्र मसान्तसम्म सबै सकेर तन्दुरुस्त बन्ने दाबी गरेका हुन् ।