काठमाडौं, २३ असोज । नेपालमा आँखा स्वास्थ्य सेवा प्रदान गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रको भूमिका रहि आएको छ । यसमा मुख्यतया नीतिनिर्माण तथा आवश्यक निर्देशीका निर्माण गरी सम्पूर्ण सेवा प्रदायकहरुलाई नेपाल सरकारले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले विश्वभर मनाउदै आइएको विश्व दृष्टि दिवस २०२३ को अवसरमा प्रत्येक वर्षझैं यस वर्षपनि अक्टोबर महिनाको दोेश्रो बिहीबारका दिनलाई आँखा स्वास्थ्य सचेतनामूलक कार्यक्रमको आयोजना गर्दै मनाउन लागेको छ । यस वर्षको विश्व दृष्टि दिवसको “कार्यस्थलमा आँखालाई माया गरौं” ९ीयखभ थ्यगच भ्थभक बत ध्यचप० भन्ने नाराको व्यवहारिक पक्षलाई ध्यानमा राख्दै अस्पतालले साताव्यापी रुपमा विभिन्न कार्यस्थलमा नै स्वास्थ्य टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम तथा आँखा शिविर सञ्चालन गरेको छ ।
यसै अवसरमा आज असोज २३ गते मंगलबार तिलगंगा आँखा प्रतिष्ठानमा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमका बिच आँखा परिक्षण समेत गरिएको छ । कार्यक्रममा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङले सबैको पहँुचमा आँखा स्वास्थ्यलाई पु¥याउन अस्पतालले केन्द्रमा मात्र नभई देशको कुना–कुनामा सेवा बिस्तार गरेको जानकारी दिईन् । त्यस्तै अस्पताल प्रमुख डा. सिर्जना अधिकारीले काम गर्दा कार्यस्थलमा आँखालाई कसरी सुरक्षित राख्न सकिन्छ भन्नेबारे तथ्यांकसहित प्रस्तुति दिएकी थिईन् । अन्तरक्रियामा सहभागी पत्रकारहरुले विभिन्न विषयमा जिज्ञासा राखेका थिए ।
विश्व स्वास्थ्य संगठन, आइएपिबी र अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार विश्वभरका काम गर्ने उमेरका करिब १ करोड ३० लाख व्यक्तिहरू दृष्टि कमजोरीसँगै बाँच्ने गरेका छन् । वार्षिक रूपमा अनुमानित ३५ लाख मानिसहरुलाई कार्यस्थलमा नै दूर्घटनाबाट हुने आँखासम्बन्धी चोट लाग्ने गरेको छ । त्यस्तै, समान्य व्यक्तिको तुलनामा दृष्टिविहीन कामदारहरूको रोजगारी प्राप्त गर्ने सम्भावना ३०.२ प्रतिशत भन्दा कम छ ।
रोजगारदाताले प्रत्येक कार्यस्थलमा कर्मचारीको खतराहरूको जोखिमलाई रोक्न, आँखा स्वास्थ्यको रक्षा गर्न,उमेरका कारणले प्राकृतिक रूपमा हुने दृष्टि सम्बन्धि समस्या कम गर्न जोखिम पहिचान गर्न आवश्यक छ ।
पछिल्लो अनुसन्धान (RAAB सर्भे २०२०) अनुसार नेपालमा ५० वर्ष र माथिका जनसंख्याको २० प्रतिशत जनसंख्याको दृष्टि कमजोर छ । दृष्टिबिहिन गराउने रोगहरुमा मोतिबिन्दु (६५ प्रतिशत) नै पहिलो कारण रहेको छ भने अन्य रोगहरुमा आँखाको पर्दाजन्य, आँखाको नानिमा देखिने समस्या, जलबिन्दु र मधुमेहबाट हुने अन्धोपन रहेको छ । चश्माको जाँच तथा प्रयोग पर्याप्त नहुनाले दृष्टिदोष पनि एक मुख्य समस्या रहेको छ । हालसम्म पनि हटाउन सकिने अन्धोपनको संख्या उच्च छ । पुरुषको तुलनामा महिलाहरुमा दृष्टि बिहिनता बढि रहेका छन् ।
नेपालको अपाङ्गताहरुमा दृष्टिगत अपाङ्गता एक मुख्य रहेको छ । दृष्टि कमजोर भएका बालबालिकाहरुको औपचारिक शिक्षा ५ गुणाले कमि हुने संभावनाबाट शिक्षाको नतिजा राम्रो नहुन सक्छ । ५ जना अन्धोपना भएका बालबालिकाहरु मध्ये ४ जनालाई उपचार गरेर पुनः दृष्टिको अवस्थामा ल्याउन सकिन्छ । यो आकडा अनुसार विगतमा भएको सर्वेक्षण भन्दा रोगको भार कम हुँदै गएतापनि बुढ्यौलीपन, नसर्ने आँखाका नयाँ रोगहरु, नयाँ रोगको वृद्धि र मूख्यतया ग्रामिण भेगमा उपलब्ध सेवाको उचित मात्रामा उपयोग कम भएकाले संख्यात्मक रुपमा जुन मात्रामा घट्नुपर्ने हो त्योअनुरुप भएको पाइदैन ।
नेपालमा हालसम्म कार्यस्थलमा हुने आँखारोगको अवस्था बारेमा नगन्य रुपमा अनुसन्धान भएको पाइन्छ । यसको अलावा कार्यस्थलमा आवश्यक पर्ने उपकरणहरुको प्रयोग, नियमित गर्नुपर्ने चेकजाँच र कार्यस्थलको प्रकृति अनुसार जोखिम मूल्यांकन समय–समयमा गर्ने हो भने यसबाट पर्ने असरलाई न्यूनिकरण गर्दै प्रत्येक नेपालीहरुको जीवनशैली उकास्न उत्पादकत्व वृद्धि गरी राष्ट्रलाई समृद्धितर्फ उन्मुख गराउन सकिन्छ ।
कार्यस्थलमा आँखालाई यसरी माया गरौं :
-आँखाको तनाव कम गर्नको लागि कार्यस्थल राम्रोसँग उज्यालो भएको सुनिश्चित गर्नुहोस् ।
-आफ्नो आँखालाई ओसिलो राख्न बारम्बार झिम्काउनुहोस् , आँखा धेरै नै सुख्खा महसुस भए कृत्रिम आँसु प्रयोग गर्नुहोस् ।
– आँखाको तनाव कम गर्न २०–२०–२० नियम पालना गर्न प्रत्येक २० मिनेटमा, २० सेकेन्ड ब्रेक लीइ आँखालाई आराम दिन कम्तिमा २० फिट टाढा हेर्नुहोस् ।
– आँखाको तनाव कम गर्नको लागि काम बाहिर डिजिटल स्क्रिनहरू समावेश हुने गतिविधिहरूमा कम संलग्न हुनुहोस् ।
-आँखाको मांसपेशी बलियो बनाउन र तनाव कम गर्न आफ्नो आँखा घुमाउने वा टाढाको वस्तुमा ध्यान केन्द्रित गर्ने जस्ता अभ्यास गर्नुहोस् ।
-सम्भावित आँखाको जोखिमपूर्ण वातावरण (घर निर्माणस्थल, खेतबारी, घर तथा वाल पेन्टिङ, ग्रील उद्योग, गाडि मर्मतस्थल, मोटरसाईकल÷गाडि चलाउँदा, ट्राफिक प्रहरीहरु डिउटिमा रहँदा, आदि) मा काम गर्नुहुन्छ भने सुरक्षात्मक चस्मा नियमित प्रयोग गर्नुहोस् ।
– आँखाको स्वास्थ्य कायम राख्नको लागि र आँखा सुख्खा हुनबाट जोगिन पर्याप्त पानी पिउनुहोस् ।
-आँखा स्वास्थ्यको जाच गर्न र दृष्टिसम्बन्धी कुनै पनि समस्यालाई तुरुन्तै सम्बोधन गर्नको लागि नेत्र सहयक/अप्टोमेट्रिस्ट वा नेत्र रोग विशेषज्ञसँग नियमित आँखा जाँच गर्नुहोस्।