काठमाडौं, २४ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि काठमाडौंमा दिउँसै मोसो दलिएपछि उनका समर्थकहरु आक्रोशित बनेका छन् । प्रसाईंले आफूमाथि एमाले अध्यक्ष केपी शर्मा ओली र एमालेकै नेता महेश बस्नेतको निर्देशनमा मोसो दलिएको दाबी गरेका छन् ।
आफूमाथि मोसो दलिएको भोलिपल्टै प्रसाईंले आफ्नो निजी निवासमा पत्रकार सम्मेलन गरेर आफ्नो लडाईं अब एमालेसँग सुरु भएको खुला चूनौति दिए । प्रसाईंमात्रै नभएर उनको गृहजिल्ला झापाका उनका समर्थकहरु पनि एमाले अध्यक्ष ओली र नेता महेश बस्नेतमाथि आक्रामक सुनिएका छन् ।
सामाजिक सञ्जालमा अहिले प्रसाईंका समर्थकहरुले महेश बस्नेतलाई झापा टेकेर देखाउन खुला चूनौति दिएका छन् । कतिपयले त झापा टेकेर देखाउन भनेका छन् । महेश बस्नेत यही असोजको अन्तिम साता झापा जाने कार्यक्रम रहेको उनीहरुको भनाई छ । प्रसाईंले एमाले अध्यक्ष ओलीभन्दा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालमा राजनीतिक चरित्र रहेको दाबी गरेका छन् ।
प्रसाईंलाई युवा संघको तागत ननाप्नसमेत महेश बस्नेतले चेतावनी दिएका छन् । प्रसाईंमाथि मोसो दलिएपछि युवाहरुले महेश बस्नेत जिन्दावाद, युवा संघ जिन्दावाद, केपी ओली जिन्दावाद भनेर नारा लगाएका थिए । प्रसाईंले बैंकको सावा र ब्याज नतिर्नको लागि यस्तो अराजक शैली अपनाएको भनेर पनि आलोचना गरिरहेका छन् । प्रसाईंले विभिन्न बैंक तथा वित्तिय संस्थालाई साढे ५ अर्बभन्दा बढि सावा र ब्याज तिर्न बाँकी रहेका समाचार आएका छन् ।