तनहुँ २४ असोज । शुक्लागण्डकी नगरपालिकाले सहीद लालध्वज मोटरमार्गअन्तर्गत कोत्रे–थप्रेक सडक खण्डमा स्तरोन्नति गरिँदै छ । पृथ्वीराजमार्गको वैकल्पिक मार्गका रुपमा रहेको यस मार्गमा यस वर्ष करिब चार किलोमिटर दूरीमा स्तरोन्नति गर्न लागिएको हो । सङ्घीय सरकारको दुई करोडको लागतमा सडक विस्तार गर्न लागिएको शुक्लागण्डकी नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले जानकारी दिए ।
शुक्लागण्डकी–१ कोत्रेदेखि व्यास नगरपालिका–६ स्थित सिन्धुमार्गमा जोडिएकाले राजमार्गको वैकल्पिक सडकका रुपमा विकास गर्न लागिएको उनले बताए । कुनै कारणवश दमौली–कोत्रे खण्डको राजमार्ग अवरुद्व भएको अवस्थामा उक्त मार्ग प्रयोग गरी पोखरा, लमजुङ, गोरखा, चितवन, काठमाडौँ लगायतका मुख्य सहरमा आवतजावतमा सहज हुने बताइएको छ ।
उक्त लालध्वज मोटरमार्गअन्तर्गत करिब १८ किलोमिटर दूरीमा रहेको छ । यसअघि करिब चार किलोमिटर सडक कालोपत्र गरिएको छ भने बाँकी चौध किमी सडकमा ग्राभेल गरिएको छ । त्यसैगरी बहुवर्षीय योजनाअन्तर्गत गण्डकी प्रदेश सरकारले सडक कालोपत्रका लागि चालु आर्थिक वर्षमा तीन करोड बजेट विनियोजन गरिसकेको सो नगरपालिकाले जनाएको छ ।
सदरमुकाम दमौलीबाट राजमार्ग हुँदै कोत्रे जानुभन्दा उक्त मोटरमार्गको दूरी छोटो पर्ने भएकाले पनि प्राथमिकतामा राखेर काम गर्दै आएको उनले बताए । त्यसैगरी दुलेगौडाबाट शुक्लागण्डकी–१२ को लिलाचोकसम्म व्यवस्थित नाला सहितको सडक स्तरोन्नति गर्न लागिएको नगरपालिकाले जनाएको छ ।
डिपिआरको अन्तिम चरणमा रहेकाले कार्य सम्पन्नपश्चात् ठेक्का प्रक्रिया अघि बढाइने नगरप्रमुख कृष्णराज पण्डितले जानकारी दिए । छिमेकी जिल्ला स्याङ्जाको पुतलीबजार जोड्ने उक्त मोटरमार्ग राजमार्गको सडकबाट भन्दा छोटो दूरीमा पर्ने भएकाले प्राथमिकता दिएर काम गर्दै आएको नगरपालिकाले जनाएको छ । रासस