काठमाडौं, २४ असोज । रौतहटको मौलापुर नगरपालिका वडा नं. ६ मा रहेको श्री मावि पथरा बुधराममा व्यापक भ्रष्टाचार भएको तथ्य बाहिरिएको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष रामप्रसाद यादवले त्यहाँ भएको भ्रष्टाचारको बारेमा खुलासा गरेका हुन् ।
विद्यालयका निर्वतमान प्रधानाध्यापक राजेन्द्र साह, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामएकवाल त्यागी र लेखापाल भगत साहको मिलोमतोमा करोडौं रकम भ्रष्टाचार भएको उनको दाबी छ ।
कक्षा ९ देखि कक्षा १२ सम्मको लागि शिक्षण सिकाई सामाग्रीको व्यवस्थापनमा लागि निकासा भएको २१ लाख २ हजार ५ सय रकम सामान खरिदै नगरी मिलेमतोमा भ्रष्टाचार भएको उनको आरोप छ । विद्यालयमा सिसिटिभी जडान, इन्टरनेट जडानलगायतका काममा समेत भ्रष्टाचार भएको उनको भनाई छ ।
विद्यालयमा भइरहेको भ्रष्टाचारको सन्दर्भमा छानविनको लागि स्थानीय निकायदेखि अख्तियार दुरूपयोग अनुसन्धान आयोगसम्म पुगेपनि छानविन हुन नसकेको उनले बताए ।
विद्यालयको निजी स्रोतबाट प्राप्त हुने रकमहरु, अनुदान, प्राविधिक धारतर्फ आएको रकम, छात्रवृत्ति, दिवा खाजालगायतमा व्यापक भ्रष्टाचार भइरहेको उनको आरोप छ । विद्यालयमा भएको र भइरहेको भ्रष्टाचारका सन्दर्भमा अख्तियारले छानविन गरेर सत्य–तथ्य बाहिर ल्याउनुपर्ने उनको माग छ ।