Logo

रविको दाबी: रास्वपा बाहेकका दलमा राणा शासन कायमै छ



काठमाडौं,२५ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशबाट राणा शासन अन्त्य भएपनि राजनीतिक दलहरुमा अझैपनि कायमै रहेको दाबी गरेका छन्।

बिहीवार रास्वपा र गैरआवासीय नेपाली संघले संयुक्त रुपमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी बाहेकका दलहरुमा राणा शासन कायम रहेको बताएका हुन्।

उनले भने,‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका छौँ । समावेशी लोकतन्त्रभित्र आइपुगेका छौँ । तर रास्वपा बाहेकका दलहरुमा अझैपनि राणा शासन कायम रह्यो । जसले गर्दाखेरी मुलुकले संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गर्दाखेरी पनि आफ्ना मान्छेहरुले भर्ति पाउने, चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायमै रह्यो । हिजो राणा शासनमा पनि त हुक्के, बैठके, चाकडी गर्ने, तेल लगाउने मान्छेहरुलाई तिमीलाई यति जग्गा बिर्ता, तिमीलाई यहाँको सम्पती, तिमीलाई यो भनेर दिइन्थ्यो।’

उनले अझै पनि दलहरुले आफ्नो मान्छेलाई भर्ति गर्ने गरेको बताए। उनले राणा शासनमा जस्तै चाकडी र चाप्लुसीको आधारमा मानिसहरु छानिने परम्परा कायम रहेको दाबीसमेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्