Logo

नक्कली शैक्षिक प्रमाणपत्र बनाएर जागिर खाने प्युठानका अनुसन्धान अधिकृत बुढाथोकीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर



काठमाडौं,२५ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान कार्यालय प्युठानमा अनुसन्धान अधिकृत पदमा कार्यरत सज्जनबहादुर बुढाथोकी क्षेत्रीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज उनीरिुद्ध शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा जागिर खाएको भन्दै मुद्दा दायर गरेको हो ।

उनले शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्रका आधारमा सहायक निरीक्षक पदमा नियुक्ति र पछि बढुवा भएको ठहर गर्दै अख्तियारले विशेष अदालतमा मुदा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए ।

क्षेत्रीले माध्यामिक शिक्षा परिषद्, उत्तर प्रदेश, इलाहाबाद, भारतबाट इन्टरमिडिएट तह उत्तीर्ण गरेको शैक्षिक योग्यताको झुट्टा प्रमाणपत्र पेस गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उनले सोही प्रमाणपत्रको आधारमा राष्ट्रिय अनुसन्धान विभागको सहायक निरीक्षक पदमा सुरुमा नियुक्ति भइ वरिष्ठ अनुसन्धान सहायक र अनुसन्धान अधिकृत पदमा बढुवा भइ सरकारी लाभ तथा सुविधा लिएको ठहर अख्तियारले गरेको छ ।

क्षेत्रीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ अनुसारको कसुर भएको पुष्टि हुन आएकोले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा १ बमोजिमको सजाय मागदाबी अख्तियारले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्