काठमाडौं,२५ असोज । नेकपा एमालेका युवा नेता तथा राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत सहभागी भएको कार्यक्रमलाई पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताले बिथोल्ने प्रयास गरेका छन् ।
बिहीबार झापाको अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनको क्रममा उपस्थित भएका नेता कार्यकर्ता सवार गाडी तोडफोड गरिएको हो ।
उक्त कार्यक्रममा पहिचानवादीसँगै दुर्गा प्रसाईँका कार्यकर्ता मिसिएर एमाले कार्यकर्ताको एक दर्जन गाडी फुटाइएको छ । देश लुट्ने गिरोहको भण्डाफोर गर्ने भन्दै प्रसाईले गत मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेका थिए । उक्त पत्रकार सम्मेलनमा एमाले निकट युवा संघका कार्यकर्ताले कालोमोसो दलेका थिए ।
कालोमोसो दल्ने युवा संघका कार्यकताले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद भन्दै नारा लगाएका थिए । उक्त घटनालगत्तै बस्नेतले प्रसाईलाई ठेगान लगाईदिएको अभिव्यक्ति दिएका थिए । यसरी आफूमाथि एमालेका कार्यकर्ताले मोसो दलेपछि प्रसाई एमालेविरुद्ध आक्रमक बनेका छन् ।
बुधबार आफ्नै निवासमा पुनः पत्रकार सम्मेलनको आयोजना गर्दै प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली, नेता महेश बस्नेतसहित सिंगो पार्टीविरुद् लड्ने घोषणा गरेका थिए । प्रसाईको उक्त घोषणालाई बल पुग्नेगरी आजै उनका कार्यकर्ता एमालेविरुद्ध काउन्टर अट्याकमा उत्रिएका छन् ।