Logo

आन्दोलनरत पालिका कर्मचारी र सरकारी टोलीबीच आज निर्णायक वार्ता



काठमाण्डौं, असोज २६ । आन्दोलनरत पालिकाका कर्मचारी र सरकारी टोलीबीच आज पनि वार्ता हुँदैछ । यसअघि विहिबार भएको वार्तामा आन्दोलनरत कर्मचारीले उठाएका सबै मुद्दामा छलफल गर्न समय अपुग भएपछि आजका लागि सारिएको हो ।

पालिका कर्मचारी केन्द्रीय सङ्घर्ष समितिका महासचिव विजय देवकोटाका अनुसार सरकार पक्षबाट सङ्घीय निजामती सेवा विधेयकको मस्यौदा परिमार्जन गरी आन्दोलनरत कर्मचारीको मागअनुसार एकीकृत निजामती सेवा ऐन बनाउनेबारेमा सकारात्मक प्रतिक्रिया आएको छ ।

मन्त्रालयले हिजो आन्दोलनरत कर्मचारीसँग वार्ता गर्नका लागि सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरेको थियो । भट्टराई नेतृत्वको सरकारी वार्ता टोलीमा मन्त्रालयका सहसचिव नारायण अर्याल, कानुनका उपसचिव टङ्कबहादुर महत र प्रशासनका उपसचिव खिलराज राई रहेका छन् ।

आन्दोलनरत पालिका कर्मचारीबाट केन्द्रीय सङ्घर्ष समितिका पदाधिकारी र कर्मचारी ट्रेड युनियनहरूका प्रतिनिधि सहभागी छन् । पालिकाका कर्मचारीले १२ दिनदेखि काठमाण्डौ केन्द्रित आन्दोलन गर्दै आएका छन्।



प्रतिक्रिया दिनुहोस्