Logo

पेचिलो बन्दै कोशीको राजनीति



काठमाडौं, असोज २६ । गठबन्धन दलहरूबिच भएको सहमतिविपरीत नेपाली कांग्रेसका सांसद केदार कार्कीले (नेकपा) एमालेको समर्थनमा प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेपछि कोशीको राजनीतिले नयाँ मोड लिएको छ ।

शीर्ष तहमा भएको सहमति उल्लङ्घन गर्दै केही सांसदहरू एमालेको सहयोगमा मुख्यमन्त्री बन्न र सत्ता साझेदारी गर्न अघि बढेपछि नेपाली काँग्रेसभित्रको विवाद सतहमै प्रकट भएको छ । यसले कोशी प्रदेशमा केन्द्रीय गठबन्धन कायम नरहने सम्भावनासँगै काँग्रेस विभाजनको प्रक्रिया आरम्भ भएको अनुमान गर्न थालिएको छ । नेपाली काँग्रेस केन्द्रीय प्रचार विभागका प्रमुख मीन विश्वकर्माले कोशीमा काँग्रेसको भँगालो फाटेको प्रतिक्रिया दिनुले पनि काँग्रेसको विवाद उत्कर्षमा पुगेको अनुमान गर्न सकिन्छ ।

नेपाली काँग्रेसभित्र विकसित घटनाक्रमले कोशी प्रदेशको राजनीति भने झनै पेचिलो बन्न पुगेको छ । पछिल्लो घटनाक्रमसँगै अब कोशीमा गठबन्धनको निर्णय कार्यान्वयन हुन्छ वा एमालेको रणनीति अनुसार गठबन्धन विभाजित बन्छ भन्ने प्रश्न उब्जिएको छ ।

काँग्रेसभित्र देखिएको पछिल्लो समस्या समाधान गर्न नेपाली काँग्रेस कोशी प्रदेश समितिले आज ११ बजे प्रदेश कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठकले पार्टी निर्णय कार्यान्वयन गर्न र पार्टी अनुशासन उल्लङ्घन नगर्न सांसदहरूलाई निर्देशन दिने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्