काठमाडौं, असोज २६ । द्वन्दग्रस्त इजरायलबाट स्वदेश फर्किन थप २ सय जना नेपालीले आफ्नो विवरण टिपाएका छन् । इजरायलेको तेल अबिबस्थित नेपाली दूतावासले घर फर्किन चाहने नेपालीहरूका लागि खुलाएको अनलाइन आवेदनमार्फत दुई सय जना नेपालीले नेपाल फर्किन चाहेका हुन्।
दुतावासका अनुसार अनलाइनमा नेपालीको विवरण प्राप्त भइराखेको छ । सरकारले इजरायलबाट नेपाल फर्किन चाहाने सबैलाई ल्याउने प्रक्रिया सुरु गरेको छ ।
शुक्रबार बिहानमात्रै पहिलो चरणमा १५४ जना नेपाली विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याइएको छ । इजरायलमा प्यालेस्टाइनको लडाकू समूह हमासको आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । चार जना घाइते भएका छन् भने एक जना बेपत्ता भएका छन् ।
घाइतेमध्ये एक जना नेपाल फर्किसकेका छन् । अरु तीन जनाको इजरायलमै उपचार भैराखेको छ । थप एक जना डिस्चार्जको क्रममा रहेको र बाँकी दुई जनाको उपचार जारी रहेको दूतावासले जनाएको छ ।