Logo

नेसनल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेसनल कलेजलाई



काठमाडौं । नेसनल बास्केटबल लिगको उपाधि टाइम्स इन्टरनेसनल कलेजले जितेको छ । राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा टाइम्सले सबै ७ खेल जितेर उपाधि जितेको हो । लिगमा आफ्नो अन्तिम खेल खेलिरहेको टाइम्सले शुक्रबार त्रिभुवन आर्मी क्लबलाई ११५–९० को स्कोरमा पराजित गर्‍यो ।

टाइम्सले सबै खेल जितेर १४ अंक बटुल्यो । आर्मीले ७ खेलमा ५ खेलमा जित हात पार्दै १२ अंक बटुल्यो । टाइम्समाथि जित हात पारेको भए आर्मी नै लिग विजेता हुने थियो । आर्मीको लिगमा यो दोस्रो हार हो । सबै ७ खेल खेलेको कीर्तिपुर बास्केटबल क्लब ११ र ६ खेल खेलेको रोयल स्पोर्ट्स सेन्ट्रल १० अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

रोयल स्पोर्ट्सले शनिबार हुने लिगको अन्तिम दिनको खेलमा बूढानीलकण्ठ बास्केटबल क्लबलाई पराजित गरेमा आर्मीसँगै समान १२ अंक हुनेछ र हेड टु हेडका आधारमा रोयल स्पोर्ट्स दोस्रो स्थानमा हुनेछ । रोयल स्पोर्ट्सले ४ खेल जितेको छ भने २ खेलमा हार बेहोरेको छ ।

अमज्योत सिंहको ३३ स्कोरबाट प्रेरित टाइम्सले राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा टाइम्सले आर्मीलाई खासै मौका दिएन । टाइम्सले २५–२१, ५८–४७, ८५–६१ ले पहिलो तीन क्वाटरमा अग्रता लिँदै खेल जितेको थियो ।



प्रतिक्रिया दिनुहोस्