काठमाडौं,२७ असोज । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले काभ्रेका बनेपा नगरपालिकाको नगरभेला सम्पन्न गरेको छ ।
शनिबार आजपाले “किसानलाई पेन्सन तथा गरिबलाई आवासको व्यवस्था” गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका साथ भेला सम्पन्न गरेको अध्यक्ष प्रभु साहले जानकारी दिए ।
माधवनारायण श्रेष्ठले अध्यक्षता गरेको उक्त कार्यक्रममा आजपाका उपाध्यक्ष एवं पूर्व सभासद तिलक थापा, उपमहासचिब अरुण घिसिंग, धर्मेन्द्र सापकोटा, ज्ञानेन्द्र कुमार लगायतका नेताहरु सहभागी भएका थिए । नगर भेला काभ्रेको बनेपास्थित उग्रचण्डी पार्टी प्यालेसमा आयोजना भएको र उक्त भेलामा सयौं जुझारू कार्यकर्तासहित चर्चित कलाकारहरुको सहभागिता रहेको आजपाले जनाएको छ ।
साह नेतृत्वको पार्टी पछिल्लो समय संगठन विस्तारका लागि देश दौडाहमा लागिरहेको छ भने सयौंको संख्यामा विभिन्न पार्टीका प्रभावशाली नेता/कार्यकर्तालाई आफ्नो पार्टीमा भित्रयाएको छ ।
अध्यक्ष साहले पार्टी स्थापनाको छोटो समयमा नै जनताको मत जित्नेगरि अभियान छेडेका छन् । जनजिविका र सुशासनका मुद्दालाई साहले महत्वका साथ उठाएका छन् ।